रसुवा – आइपीओमा सबैको पहुँच पुर्याउनका लागि आइसीएफसी फाइनान्स लिमिटेडले गाउँमा पुगेर खाता खोल्ने कार्यक्रम सञ्चालन गरेको छ।
आउँदो सोमबारदेखि रसुवाबासीका लागि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीयो निष्कासन गर्न लागेकाले संस्थाले खाता खोल्ने कार्यलाई गाउँमा नै सञ्चालन गरेको शाखा प्रबन्धक सोमबहादुर तामाङले बताए। जिल्लाको कालिका गाउँपालिका – २ कालिकास्थानमा रहेको शाखाले शनिबार नौकुण्ड गाउँपालिका–६ मा पुगेर खाता खोल्ने कार्य गरेको छ। संस्थाले दिएको जानकारी अनुसार शनिबार सञ्चालन गरिएको कार्यक्रमबाट १ सय ३८ वटा खाता, १ सय ५० वटा डिम्याट, १ सय ५० वटा मेरो सेयर र १ सय ५० वटै सिआस्बा खोल्ने कार्य गरिएको छ। यस्तै १२ वटाको केवाइसी अपडेट गरिएको छ।
रसुवाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्ने छ। यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ। कम्पनीले गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र वडा नम्बर २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेलाई अति प्रभावित क्षेत्र र गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ।
निष्कासन गरिएको १० प्रतिशत सेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५:१.५:१ अनुपातमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। निष्कासन बन्द छिटोमा असार २७ र ढिलोमा साउन १० गते तोकिएको छ। आइपियोमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ। आइपियोमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो। कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यसको ८३ प्रतिशत काम सकिएको छ। स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar