धादिङ – नीलकण्ठ नगरपालिकाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
मंगलबार बसेको नगर कार्यपालिकाको दोस्रो नगरसभामा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार रुपैयाँ र पुँजीगततर्फ ४६ करोड १२ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि २० करोड ७९ लाख रुपैयाँ कम बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले १ अर्ब २ करोड १२ लाख ७७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । नगरपालिकाले कुल बजेटको आर्थिक विकासतर्फ ८ करोड २६ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ ३० करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेको छ । नगरपालिकाले कृषि क्षेत्र प्रवर्द्धनका लागि ५ करोड २९ लाख विनियोजन गरिएको छ । त्यसका लागि ‘कृषिमा सीप, प्रविधि र पुँजीसहितको आत्मनिर्भर, किसानका लागि स्थानीय सरकार’ भन्ने नाराका साथ कृषि क्षत्र प्रवद्र्धनको लागि कार्यक्रम निर्धारण गरेको छ ।
नगरपालिकाले दुग्ध र दुग्धजन्य पदार्थ उत्पादनलाई प्रवर्द्धन गर्न कार्यक्रम ल्याएको छ भने उद्योग तथा लघु उद्यम विकासका लागि १ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले नीलकण्ठ प्रज्ञा प्रतिष्ठान स्थापना गरेर भाषा कला संस्कृति एवम् प्राज्ञिक क्षेत्रको प्रवर्द्धन विकासका गर्ने नीति लिएको छ । नगरपालिकाले स्वास्थ्य क्षत्रका कार्यक्रम कार्यान्वयनका लागि ७ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ भने शिक्षा क्षेत्रमा ३९ करोड ४३ लाख रुपैयाँ विनियोजन गरको छ । त्यसैगरी नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । बहुप्राविधिक विद्यालय स्थापनाका लागि आगामी आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar