बैतडी – नागरिकतामा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकाहरूमाथि कारबाही प्रक्रिया सुरु भएको छ ।
आफैँले नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका बैतडीका १५ जनामाथि कानुनी कारबाही सुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, ‘नागरिकतामा केरमेट गरेर आफूखुसी जन्ममिति बढाएकाहरूले कम्तीमा तीन बर्षदेखि बढीमा २७ वर्षसम्म सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ, यसरी भत्ता बुझेकाहरूले सम्बन्धित पालिकामा भत्ता बुझे बापतको रकमको दोब्बर पालिकालाई फिर्ता गरेको भौचरसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ ।’
राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि टोली वडामा खटिएका बेला र जिल्ला प्रशासन कार्यालयमा आएको गुनासोको आधारमा छानबिन गर्दा अहिलेसम्म १५ जनाले गैरकानुनी रूपमा भत्ता बुझ्दै आएको पाइएको सूचना अधिकारी भारतीले बताए । जन्ममिति बढाएर भत्ता लिनेविरुद्ध कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ ।
यस्तै नागरिकतामा आफूखुसी जन्ममिति बढाएकाले उनीहरूमाथि नागरिकता ऐन २०६३ अनुसार पनि कारबाही हुनेछ । ऐनको दफा २१ को उपदफा ४ बमोजिम तीन महिना कैद, १० हजार जरीवाना वा दुवै सजाय हुन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका अन्य ठाउँमा पनि यसरी जन्ममिति बढाएर भत्ता बुझेको हुन सक्ने भन्दै अनुसन्धान थालिएको सूचना अधिकारी भारतीले बताए ।
जिल्लाको डिलाशैनी गाउँपालिकाका १३ जना, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकाका एक/एक जनाले आफूखुसी जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar