विराटनगर – मोरङको जहदा गाउँपालिका – ७ का महावीर चौधरी मलाहा झापाको माईखोला किनारमा खर्बुजा खेती गर्छन्। खेती गरेको १८ वर्ष भयो। आर्थिक अवस्था कमजोर रहेका चौधरी परिवारको मुख्य आम्दानीको स्रोत नै खर्बुजा खेती हो। यसकै आम्दानीले २०६५ सालमा महावीरले जहदामै ९ कट्ठा ६ धुर जग्गा जोडे। त्यही आम्दानीले जोडेको जग्गा धितोमा राखेर ऋण लिँदै खेती विस्तार गरे।
तर, २०७२ सालमा असिनाले खर्बुजा खेती नै नस्ट गर्यो। महावीरलाई बिपत्ति आइलाग्यो। जग्गा धितो राखी छिमेकी प्रफुल साहसँग १ लाख रुपैयाँ ऋण लिएका थिए। खेती असिनाको चुटाइमा परेपछि ऋण उक्सिएन। ऋण तिर्न नसकेका उनले २०७२ साउन १९ गते विराटनगर महानगरपालिका–१९ का पशुपति साहसँग ४ लाख ऋण लिँदै जग्गा रजिष्ट्रेसन नै पास गरिदिएर। व्यावहारिक सर्त पैसा फिर्ता गरे जग्गा फिर्ता दिने पनि थियो। त्यहीँ ऋणबाट प्रफुललाई १ लाख ५० हजार पैसा दिए र पहिलो ऋणबाट उक्सिए। बाँकी रकम खर्बुजा खेतीमै लगानी गरे।
घर व्यवहारसमेत चलाउन धौधौ परेपछि जग्गा राजीनामा पास गरेरै पशुपतिसँग ऋण लिएका थिए। पशुपतिले आफ्नो पैसा पाइसकेपछि महावीरलाई जग्गा फिर्ता गरिदिए। उनको पैसा तिर्न जहदा – ७ कै सुदेशकुमार साहसँग २०७३ असार १६ गते ५ लाख ऋण काढेका थिए। ऋण तिरिसकेपछि फिर्ता गर्ने सर्तमा त्यही जग्गा राजीनामा पास गरिदिएर सयकडा ३ रुपैयाँ ब्याजमा सुदेशसँग पैसा लिएको महावीर बताउँछन्।
२०७३ सालमा लिएको ५ लाख रुपैयाँको २०७७ सालसम्ममा १० लाख २० हजार सुदेशलाई बुझाइसकेका छन्। तर, जग्गा भने फिर्ता नगरिकन मिटरब्याजी सुदेशले २०७७ पुस २० गते ‘सुटुक्क’ जहदा – ५ का श्रवण साह तेलीलाई बिक्री गरिदिएको पाइएको छ। ब्याजसहित पैसा बुझाउँदा पनि सुदेशबाट जग्गा फिर्ता नपाएपछि उनी रनभुल्लमा परे। ‘५ लाख लिएकोमा सावाँ र ब्याजसहित १० लाख २० हजार बुझाएँ,’ महावीरले भने, ‘लाखौंको जग्गा फिर्ता माग्न जाँदा अर्कैलाई बेचिसकेको पायौं।’ ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा फिर्ताका लागि उनी विभिन्न निकाय धाउँदाधाउँदा थाकिसकेका छन्। माटोमा रगत र पसिना बगाएर गरेको कमाइले किनेको जग्गा फिर्ता हुने आधार नबन्दा महावीर र लीलादेवी हैरान भइसकेका छन्। विपन्न अवस्थाका चौधरी दम्पती अहिले त्यही बिलौना बोकेर हिँडिरहेको छ। मनभरि पीडा बोकेर तड्पिरहेका उनीहरूको बिल्लिबाठ भएको छ। मिटरब्याजीले जग्गा बिक्री गरिदिएपछि खर्बुजा किसान महावीर २ वर्षयता पीडैपीडामा छन्।
जग्गासँग सम्बन्धित प्रमाण लिएर विराटनगर आइपुगेका चौधरी दम्पती।
७ बिघा क्षेत्रफलमा खर्बुजा लगाउन महावीरले जग्गा धितो राखेर ऋण लिए पनि असिना पानीले खेती नष्ट गरिदियो। थप ऋण खोज्ने क्रममा उनी मिटरब्याजी सुदेशसम्म पुगेका हुन्। ४ वर्षको अवधिमा किस्ता – किस्ता गरेर ब्याजसहित दोब्बर बढी बुझाइसके। तर, महावीरले जग्गा फिर्ता माग्न थालेपछि सुदेशले श्रवणलाई बेचिदिए। जग्गाको पीडाले छटपटाइरहेका महावीर र लीलादेवी सरकारको सहयोग खोजिरहेका छन्। ‘म लेखपढ नभएको मान्छे। जीविकाका लागि खेती गर्नैपर्ने बाध्यताले सबैसँग विश्वासमा कारोबार गर्ने गरेँ। ऋण लिएकामध्ये प्रफुल र पशुपतिले इमान्दारिताका साथ जग्गा फिर्ता गरिदिए,’ महावीर भन्छन्, ‘सुदेशले भने बदमासीपूर्ण तरिकाले श्रवणलाई बेचिदिएको पाइयो। ऋणको सावाँ र ब्याज गरेर मसँग दोब्बर पैसा पनि लिए।’ खर्बुजाबाट मात्रै हुने आम्दानीले सुदेशको ऋण तिर्न नपुगेपछि महावीर पैसा कमाउन भारतको पञ्जाबसमेत गए। तीन वर्ष पञ्जाबमा कमाएको पैसा उनले सुदेशलाई नै बुझाए। ‘ऋण लिँदा पछि उकास्ने गरी जग्गा दिएको थिएँ। खर्बुजाको आम्दानीबाट सम्भव नभएपछि ऋण तिर्नलाई तीन वर्ष पञ्जाबमा गएर मार्बल मिस्त्रीको काम गरेँ,’ उनले भने, ‘सबै कमाई ऋण तिर्दैमा सकियो। अहिले जग्गा पनि मिटरब्याजीले झ्वाम पारिदिए।’
आफ्नो जग्गा अर्कैले जोत्न थालेपछि मात्रै बिक्री भएको थाहा पाएको महावीर बताउँछन्। अशिक्षा र सोझोपनको फाइदा उठाउँदै सुदेशले बिक्री गरिदिएको जग्गामा अहिले उनीसहित श्रवणले माछा पालनको तयारी गरिरहेका छन्। अर्कोतिर सुदेशले जग्गा श्रवणलाई बिक्री गर्दा कर छली गरेका छन्। आफूले ऋणबापत ५ लाख दिएर महावीरसँग लिएको जग्गा उनले ४ वर्षपछि श्रवणलाई ४ लाख १५ हजार ९ सय रुपैयाँमै राजीनामा पास गरिदिएको फेला परेको छ।
‘कसैले पनि आफू घाटा खाएर जग्गा बिक्री गर्दैन। गरिबको जग्गा बिक्री गर्ने नाममा कर छली पनि गरेको देखिन्छ’, घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘अनुसन्धान गर्दै जाँदा महावीरसँग जग्गा किनेर कम मूल्यमा अर्कैलाई बिक्री गरेका सुदेश मिटरब्याजी रहेको पत्ता लाग्यो। जग्गा बिक्रीमा कर छलीदेखि मिटरब्याजको धन्दासम्मलाई आधार बनाएर अनुसन्धान अघि बढाएका छौं।’ महावीरकी पत्नी लीलादेवीबाट सुदेशले २०७४ सालमा २ लाख ७० हजार, २०७५ सालमा २ लाख, २०७६ सालमा ३ लाख लिएको देखिन्छ। २०७६ सालमा भने घरमै लगेर पैसा बुझाएको महावीरको भनाइ छ। मोरङको कटहरीस्थित जीवन विकास समाजबाट पैसा निकालेर २०७७ मा झापाको झापा गाउँपालिकामा लगेर २ लाख र सुनसरीको इनरुवामा ५० हजार रुपैयाँ महावीरले सुदेशलाई बुझाएको प्रहरी स्रोतले बतायो। राष्ट्रिय वाणिज्य बैंकको आफ्नो खाताबाट निकालेर लीलादेवीले सुदेशलाई पैसा बुझाएकी हुन्।
महावीर उक्त जग्गा प्रतिकट्ठा नै ५ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने बताउँछन्। ‘मिटरब्याजमा ऋण तिर्नुपर्दा समस्या भयो। मिटरब्याजीले जग्गा झ्वाम बनाइदिएपछि विलखबन्धमा परेको छु’, उनले भने, ‘न्याय माग्दै प्रहरी र प्रशासन धाएको धायै छौं। न्याय खोज्दै हामी बुढा–बूढी भौतारिएको निक्कै भइसक्यो। प्रशासनले जग्गा फिर्ताका लागि पटक–पटक भनिसक्दा पनि सुदेश र श्रवणले मानेका छैनन्।’ लीलादेवीका अनुसार बैंकबाट निकालेर दुई किस्ता तिरियो। ‘तेस्रो किस्ता चेक काटेर बैंकमार्फत दिन खोज्दा सुदेशले मानेनन्,’ उनले भनिन्, ‘नमानेपछि मेरै नाममा चेक काटेर तेस्रो किस्ताको पैसा पनि बुझाएको प्रमाण सुरक्षित छ।’ सुदेशले मिटर ब्याजसहित ऋण असुल गरे पनि जग्गा फिर्ता नदिएपछि आफूहरू समस्यामा परेको लीलादेवीले सुनाइन्। भनिन्, ‘अहिले माछा पाल्नभन्दै त्यो जग्गामा पोखरी खनिरहेका छन्।’ चेक काटेर दिँदा आफूलाई अप्ठेरो पर्ने भएकाले नगद नै दिनुपर्ने धम्कीसहितको दबाब सुदेशले दिएको फोन रेकर्ड पनि लीलादेवीले सुरक्षित राखेकी छन्।
जग्गा फिर्ताका लागि सहयोग गर्न आग्रह गर्दै सुरुमा चौधरी दम्पतीले जहदाकै मझारे प्रहरी चौकीमा उजुरी दिएका थिए। प्रहरीले दुई पक्षबीच छलफल गराउँदै ४ दिनभित्रमा जग्गा फिर्ता गर्ने भनेर सहीछापसहित कागज गरायो। तर, तत्कालीन असई श्रीप्रसाद ठाकुरले त्यो कागज नै गायव बनाइदिएको महावीर बताउँछन्।
जग्गा फिर्ता नभएको भन्दै ४ दिनपछि उनीहरू प्रहरी चौकी पुगे। उल्टै असई ठाकुरले हप्काएर र थर्काएर पठाएको महावीरको भनाइ छ। नेपाल–भारत सीमा क्षेत्रका तस्कर र मिटरब्याजीसँग साँठगाँठ गरेको आरोप लागेका ठाकुर अहिले वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन्। असईको नियतमै खोट देखेपछि चौधरी दम्पतीले २०७८ साल साउन ३ गते जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिए। प्रशासनको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्न मझारे प्रहरी चौकीलाई पत्राचार गर्यो। मिटरब्याजका नाममा पैसा लगानी गरेर सर्वसाधारणको उठिबास लगाउने र जग्गा अर्कैलाई बेच्ने सुदेशलाई पक्राउ गर्न निर्देशन दिएर चौकीलाई पत्राचार गरिएको थियो। तर, असई ठाकुरसँगको साँठगाँठका कारण उनी पक्राउ परेनन्।
‘एक दिन हामी प्रहरी चौकी पुग्दा सुदेशसहित बसेर असइ ठाकुर भोज खाँदै रहेछन्। त्यतिबेलै सीडीओ र एसपी सावलाई फोन गरेर सुदेशलाई पक्राउका लागि सहयोग गरिदिन आग्रह गर्यो’, महावीरले भने, ‘तर आफूसँगै रहेका व्यक्ति सुदेश भारतमा रहेकाले पक्राउ गर्न सकिएन भन्ने जवाफ असईले एसपी सावलाई दिएपछि हामी नाजफाव भयौं। आँखै अगाडि प्रहरी यतिसम्म गिरेको देखेपछि छक्क परेर फर्कियौं।’
त्यसपछि सुदेशले जिल्ला प्रशासन, जिल्ला प्रहरी, मझारे प्रहरी चौकी र महावीरसमेतलाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा निषेधाज्ञा माग गर्दै रिट दायर गरे। निवेदकको दाबी नपुगेको भन्दै २०७८ मंसिर १३ गते उच्चले निषेधाज्ञाको आदेश दिएन। आदेश महावीरकै पक्षमा आयो। सुदेशले दिएको रिट निवेदनमा उक्त जग्गा २०७३ सालमा आफूले पशुपति साहसँग खरिद गरी भोगचलन गर्दै आएको र घरव्यवहार चलाउन श्रवण साहलाई राजीनामा गरी हक हस्तान्तरण गरेको उल्लेख थियो। अदालतको आदेशपछि चौधरी दम्पतीले गत जेठ २५ गते प्रशासनमा पुनः निवेदन दिएका छन्। प्रशासनले कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ। त्यसपछि न्यायिक समितिमार्फत प्रक्रिया अघि बढाउनुपर्ने भन्दै प्रहरीले जहदा गाउँपालिकामा छलफलका लागि पठायो।
जेठ ३० गते गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनको अध्यक्षतामा न्यायिक समितिको बैठक त बस्यो। तर, महावीर र उनकी पत्नी लीलादेवीलाई कुरा राख्नै दिइएन। उनीहरू बोल्नै नपाई फर्किए। महावीर भन्छन्, ‘बैठकमा ५० भन्दा बढी असम्बन्धित व्यक्तिहरू सहभागी थिए। सीमा क्षेत्रतिरका गुण्डाहरू ल्याएर हामीलाई तर्साउने र धम्क्याउने काम गरियो। असुरक्षित महसुस गरेर फर्कियौं।’ गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक सोरेनले सहमति नजुटेपछि छलफल निष्कर्षविहीन बनेको बताइन्। पीडित पक्षले असुरक्षित महसुस गर्दै छलफलका लागि अर्को म्याद लिन अस्वीकार गरेको उनको भनाइ छ। ‘महावीरलाई तपाईंहरूका पनि मान्छे लिएर अर्को छलफलमा आउनु भन्यौं। तर, उहाँले मान्नु भएन’, सोरेनले भन्छिन्।
न्यायिक समितिले छिनोफानो गर्न नसकेपछि चौधरी दम्पती पुनः फर्किएर विराटनगर नै आएका छन्। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले महावीर चौधरी पीडित भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए। ‘एउटै जग्गा पटक–पटक नामसारी भएको छ। नामसारी भएका सबैलाई बोलाएर अनुसन्धान गर्दै छौं’, उनले भने, ‘व्यावहारिक हिसाबले चौधरी परिवार मारमा परेको छ। न्याय दिन प्रहरीको सहयोग रहन्छ।’
सहमतिमा जग्गा फिर्ता नगरेमा प्राप्त प्रमाणका आधारमा विपक्षीविरुद्ध ठगी मुद्दा चलाउन सकिने आधार पर्याप्त रहेको एसपी कोइरालाले बताए। ‘सोझा, गरिब र अशिक्षितलाई झुक्याएर जग्गा बिक्री गरेको देखिन्छ। मिटरब्याजमा लगानी गरेर पैसा असुलेको पनि पाइयो,’ उनले भने, ‘यस विषयमा गम्भीर ढंगले अनुसन्धान भइरहेको छ। पीडकलाई कानुनअनुसार कारबाही अघि बढाउने तयारी छ।’
चौधरी दम्पतीले मिटरब्याजीविरुद्ध सरकारको पछिल्लो कदमले न्यायको आशा गरेका छन्। गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा जानकारी गराउन सबैमा अनुरोध गरेको छ। मन्त्रालयले जेठ २७ गते विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता गतिविधि भएमा प्रशासनमार्फत जानकारी गराउन आग्रह गरेको हो।
मिटरब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानुनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायतका गतिविधिका बारेमा सूचना प्राप्त भएमा कारबाही अघि बढाउने सरकारको तयारी छ। अन्नपुर्ण पोष्टबाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar