धादिङ – धादिङको धुनिबेसी नगरपालिका – ९ जुगेडीमा सञ्चालित युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता भएको छ ।
एमाले नेता तथा पुर्वमन्त्री मोतिलाल दुगडको स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट निस्कने धुवाँ धुलो र ध्वनिका कारण स्थानिय आजित बनेका छन् । सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कसैले ध्यान नदिँदा सिमेन्ट उद्योग आसपासका स्थानियहरुलाई बसाँई सर्नुपर्ने बाध्यता भएको उनिहरु बताँउछन् ।
केहि बर्ष अघीबाट सञ्चालनमा आएको उक्त उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नाका लागी स्थानियले पटक पटक विरोध, सुझाव र ज्ञापन पत्र बुझाँउदै आएपनी उद्योग सञ्चालक र उद्योगमा कार्यरत् कर्मचारीहरुले त्यसलाई बेवास्ता गर्दा उक्त समस्या आएको स्थानियहरु बताँउछन् । उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधै मानवबस्तीमा आउने र त्योसंगै उद्योग सञ्चालन गर्दा ठुलो स्वरमा ध्वनी प्रदुषण हुने समस्या आएपछी अहिले धुनिबेसी नगरपालिका ९ जुगेडीबासीले हैरानी खेप्न बाध्य हुन परेको स्थानियसी बताँउछन् । धुनिबेसी नगरपालिका ९ जुगेडी घर भएकी स्थानिय रमा राईले उद्योगबाट निस्कने प्रदुषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमासमेत असर गरेको बताईन् ।
उद्योग सञ्चालनमा आएपछी उद्योग आसपासका मात्र नभएर उद्योगदेखी केहि टाढाका मानवबस्तीमा समेत त्यसको असर परेको उनले बताईन् । उद्योग सञ्चालनमा आएपछी शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भैरहने, धेरै रिस उठ्ने, जस्ता समस्या देखिएको उनी बताँउछिन् । “मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपेपनी फल्दैन, फलेपनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, हाम्रो ठाँउ कृषी क्षेत्र हो, फलफुल फल्ने ठाँउ पनि हो, त्यहि फलफुल र तरकारी बिक्री गरेर हामी पालिन्थ्यौं । तर अहिले त फलफुल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागती लगायतका फलफुलहरु प्mल लाग्दैगर्दा झरेर जान्छन् केहि पनी फल्दैन ।”
अहिले उनिहरुले समुहगत रुपमै दवाव गर्ने अभियानसमेत चलाएका छन् । स्थानिय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाई उद्योगमा र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्र समेत पेश गरेको उनले बताईन् ।
जुगेडी खाद्य अधिकार प्रभावित समूहका सहसंयोजक रामृष्ण राईले उद्योग २४सै घण्टा चल्ने र रातको समयमा बढी ध्वनी र धुँवा निकाल्ने हुँदा आफुहरुलाई निदाउनै मुस्किल भएको बताए । “हामीले उद्योगलाई बारम्बार ध्वनी र धुँवा धुलो नियन्त्रण गर्न भनेका छौं, तर उद्योगका कर्मचारीहरुले त्यसको ब्यवास्ता गर्दै आएका छन् ।” उनले भने । “सिमेन्ट उद्योगबाट निस्कने धुँवा र धुलो बढेको हुँदा बाँच्नै मुस्किल परेको छ । मानव स्वास्थ्यमा र कृषी बालीमा पनि उस्तै असर परेको छ ।”
उता युनाईटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रही सञ्चालनमा रहेको दावी गरेको छ । रातीमा उद्योग सञ्चालन गर्दा अली बढी ध्वनी आँउने गरेको उद्योगका प्रतिनिधी अशोक आचार्यले बताए । यद्धपी औपचारिक रुपमा भने आफुले बोल्न नमिल्ने आचार्यले बताए । अनौपचारिक रुपमा कुरा गर्दा भने उनले उद्योगको बचाउ गर्दै रातीमा उद्योग सञ्चालन गर्दा अली बढी ध्वनी आँउनु स्वभाविक नै रहेको बताए । “उद्योगमा बिद्युत जाने र आउने हुँदा उद्योगको अन्डरग्राउण्डमा जम्मा भएको धुलो र मेसिनबाट आउने धुँवा एकैसाथ बाहिर निस्कने गरेको हो । त्यो धेरैबेर रहँदैन र त्यसले खासै असर गरेजस्तो लाग्दैन ।” उनले भने ।
उद्योग स्थापनाको समयमा स्थानियसंग उद्योगका प्रतिनिधीहरुले स्थानियलाई रोजगारी दिने, स्थानियले प्रयोग गर्दै आएको मोटरबाटोलाई पिच गरी उद्योगलेसमेत प्रयोग गर्ने, स्थानियलाई कुनै किसिमको असर गर्न नदिने लगायतको सम्झौता गरेपनी अहिले उद्योगले भने उक्त सम्झौतालाई कार्यान्वयन गरेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar