बुटवल – एक महिला र उनकी छोरी माथि अभद्र व्यवहार गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला वली खत्रीविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
मंगलबार बिहान तुलसीपुर उपमहानगर–५ बसपार्क निवासी मिना भण्डारी बस्नेत र उनकी छोरी माथि राज्यमन्त्री खत्रीले अभद्र व्यवहार गरेको भन्दै पीडितले जाहेरी दिएका हुन्। इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपनि दर्ता भएको छैन। राज्यमन्त्री खत्रीलाई भने प्रहरीले भण्डारीकै घरबाट मंगलबार बिहान नै नियन्त्रणमा लिएको छ। स्थानीयले मन्त्रीले कुटपीटसहित घर तोडफोड गरेको जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
आफ्नो प्रेमीलाई सम्पर्क विहिन गराएको आरोपमा खत्रीले भण्डारी र उनकी नाबालिका छोरीमाथि अभद्र व्यवहार गर्दै घर तोडफोड गरेको बताइएको छ। जाहेरीमा अभद्र व्यवहार, धम्की दिने गरेको उल्लेख गरिएको छ।
खत्री र भण्डारीका श्रीमान एकराज बस्नेतबीच प्रेम सम्बन्ध रहेको विवरण यसअघि देखी नै सार्बजनिक हुँदै आएको थियो । राज्यमन्त्री खत्रीले एकराजसंग सम्पर्क नभएपछि उनकै घरमा पुगेर सोधेकी हुन्। ‘एकराज खोई, उ मेरो श्रीमान हो’, भन्दै घरभित्र पसेकी राज्यमन्त्री खत्रीले श्रीमती र छोरीमाथि कुटपिट गरेको पीडित महिलाले बताएकी छन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले खत्रीलाई जिल्ला प्रहरीमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको बताए। उनीसंग प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले सोधपुछ गरेका छन्। सोधपुछमा उनले बस्नेत आफ्नो प्रेमी भएको बताएकी छन्।
मन्त्रीले अभद्र व्यवहार गरेको भन्दै प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बर्खास्ती गरी छानबिन गर्न माग गरेको छ। ‘यो लज्जास्पद घटना हो, मुख्यमन्त्रीले ढिलो नगरी राज्यमन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्छ’, एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने।
एमालेबाट निर्वाचित सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि खत्री नेकपाबाट उपनिर्वाचनमा सांसद भएकी हुन्। उनले पार्टी विभाजनका बेला माओवादी केन्द्र रोजेको बताएकी थिइन। त्यसलगत्तै उनी राज्यमन्त्री बनेकी हुन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar