काठमाण्डौ – सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण समूहको सञ्चालकको प्रतिनिधित्वमा चलखेल भएको पाइएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्दा जारी गरेको विवरणपत्रमा समूह ‘ख’ सर्वसाधारण सेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरुको प्रतिनिधित्व हुने कुरा उल्लेख गरिएको थियो । तर कम्पनीले आज सोमबार प्रकाशन गरेको वार्षिक साधारण सभाको सूचनामा सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट एकजना मात्र सेयरधनीको निर्वाचन हुने कुरा उल्लेख गरिएको छ ।
यसरी आईपीओ जारी गर्दा सञ्चालक समितिमा सर्वसाधारण समूहको २ जना सेयरधनीहरुको प्रतिनिधित्व हुने कुरा उल्लेख गरिएकोमा अहिले साधारण सभाको सूचनामा १ जना सेयरधनीहरुको प्रतिनिधित्व हुने भएपछि अहिले सर्वसाधारण समूहका लगानीकर्ताहरु आक्रोशित भएका छन् ।
प्रबन्धपत्रमा उल्लेख गरिएको कुरा कार्यान्वयन नगर्नू गैरकानूनी हुने बताउँछन् अधिवक्ता कन्चन कृष्ण न्यौपाने । ‘प्रबन्धपत्रमा उल्लेख गरिए बमोजिम नै विवरणपत्रमा कुराहरु आउने हुन् प्रबन्धपत्र भन्ने कुरा कसैलाई मनलाग्दैमा परिवर्तन गर्न सकिने होइन’ उनले भने ‘जुन समूहको प्रतिनिधित्व प्रबन्धपत्रमा उल्लेख गरिएको छ त्यो समूह सञ्चालक समितीमा आउनु पूर्व नै त्यस्तो व्यवस्था नै परिवर्तन गर्नु न्यायिक कुरा पनि त भएन ।’ हाल कम्पनीको सञ्चालक समितीमा ५ जना सञ्चालकहरु रहेका छन् । ४ जना सञ्चालकले संस्थापक समूहको प्रतिनिधित्व गरेका छन् भने १ जना स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका हुन् ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar