काठमाण्डौ – नेपालमा कोरोनाकालको प्रारम्भिक चरणमा सर्वाधिक विवादमा आएको कम्पनी हो ओम्नी समूह । अत्यधिक महँगोमा गुणस्तरहीन सामग्री ल्याएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सो समूहलाई कालोसूचीमा राखेको थियो ।
एक अर्ब २४ करोडको मेडिकल सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले निर्देशन नै दिएको थियो । तर, ढकालमाथि हालसम्म कुनै छानबिन भएको छैन । सोही प्रकरणका पर्दा पछाडिका पात्र हुन् : विशाल पण्डित । ओम्नी समूहलाई नेपालमा मेडिकल सामग्री भित्र्याउन सहयोगी भूमिका निभाएका पण्डितकै लगानीमा बिध ल्याब समेत सञ्चालनमा छ । उनले कुनै पनि आर्थिक हैसियत नभएका पूर्व सुब्बा भीमकान्त भण्डारीलाई अघि सारेर पीसीआर परीक्षणमा कमाउधन्दा गरिरहेका छन् ।
उनै पण्डितमाथि यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन गर्न सर्कुलर गरेको छ । राजधानीको सिंहदरबार दक्षिणी गेटनजिकै रहेको बसेरा बुटिक होटलको मालिक समेत रहेका पण्डितको स्वामित्वमा हस्पिटेक नामक कम्पनी छ । यो कम्पनीले मुलुकका सबैजसो सरकारी तथा निजी अस्पतालमा मेडिकल सामग्री खरिद गर्दै आएको छ । नेपालका अधिकांश सरकारी अस्पतालमा अर्बौंको मेडिकल तथा सर्जिकल सामग्री सप्लाई गर्दै आएका ठेकेदार पण्डितमाथि छानबिन गर्न अहिलेको सरकार लागिपरेको छ । उनीमाथि छानबिन गर्न प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रलायलाई निर्देशन दिएको छ ।
पण्डितले सरकारी तथा निजी अस्पताल तथा प्रतिष्ठानका कर्मचारी, अस्पतालका खरिद इकाइ, मेडिकल उपकरणको स्पेक बनाउने चिकित्सकसँग मिलेमतो गरी सिटिस्क्यान, क्याथ ल्याब, एमआरआई मेसिन, ईसीजी, इको र एक्स – रे जस्तो मेसिन खरिदमा ठूलो सेटिङ गर्ने गरेको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । सोही उजुरीपछि प्रारम्भिक सुनुवाइका लागि सरकारले छानबिन अघि बढाएको हो । उनले कर्मचारीलाई हातमा लिएर आफैँले स्पेसिफिकेसन बनाउने र टेन्डर समेत आफूअनुकूल हुने गरी मात्रै पार्ने गरेको आरोप छ ।
धादिङको साविक केवलपुर १ घर भएका पण्डितले सेटिङ ठेक्काबाटै ५०औँ अर्बको सम्पत्ति जोडेको उनीनिकटहरु बताउँछन् । कुनै समय त्रिपुरेश्वरस्थित एक सर्जिकल पसलमा सहयोगीको रुपमा काम गर्ने पण्डितले २०६८ साल पौष २८ गते आफ्नै स्वामित्वको हस्पिटेक इन्टरप्राइजेज प्रा.लि नामक कम्पनी स्थापना गरेको कम्पनीको कागजातमा देखिन्छ ।
कागजातअनुसार २०७६ मा पण्डितले उक्त कम्पनीको अधिकृत पुँजीवृद्धि गरेर एक करोड रुपैयाँ बनाएको देखिन्छ । उनले मेडिकल सामग्री खरिदमा एकलौटी गर्न आफ्नै दाजु पुष्कर पण्डितको नाममा लाइफलाइन ट्रेड इन्टरनेशनल नामक कम्पनी समेत खडा गरेको कागजात फेला परेको छ । धेरैजसो ठेक्कापट्टामा दाइको र आफ्नै भूमिगत कम्पनीसँगै बिड गर्ने र ठेक्का भने आफूलाई पार्ने गरेको स्रोतले बताएको छ ।
उजुरीमा उल्लेख भएअनुसार पण्डितले ठेक्कामा सेटिङ गरी अर्बौँ कमाए पनि राज्यलाई भने करछली गरेको आरोप छ । उनीविरुद्ध स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न निकायमा उजुरी परेको थियो । प्रधानमन्त्री कार्यालयले चैत २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरिसकेको छ । ‘मेडिकल माफिया विशाल पण्डितलाई कारबाही गरिपाऊँ भन्दै परेको निवेदनमा छानबिन गर्न’ प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबार भित्र रहेको गुप्तचर भवनलाई निगरानी गर्ने गरि उनले गेट अगाडी नै बसेरा बुटिक होटल संचालन गरेका छन् । त्यसले मुलुकको गोप्य सुचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभागलाई गम्भिर क्षति पुगिरहेपनि सरकारले होटल भत्काउन सकेको छैन । आर्थिक दैनिकबाट
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar