काठमाण्डौ – वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दबाब सिर्जना भएको अवस्थामा केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आ. व.र्को आठ महिने आर्थिक तथा वित्तीय स्थितिले रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानीमा भने सुधारको संकेत देखाएको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा विप्रेषण आप्रवाह ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ कायम रहेको छ । अघिल्लो महिनाको माघ मसान्तमा भने विप्रेषण आप्रवाह ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ कायम रहेको थियो । यसले वैदेशिक रोजगारमा गएका नेपालीहरूबाट फागुनमा ९१ अर्ब ७ करोड रुपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको देखाउँछ । माघ महिनाको तुलनामा फागुनको विप्रेषण आप्रवाह २८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षमा यो हालसम्मकै उच्च हो ।
चालु आर्थिक वर्ष लागेदेखि नै रेमिट्यान्स घट्न थालेको थियो । गत आर्थिक वर्षको असारमा ९० अर्ब ११ करोड रुपैयाँ भित्रिएको रेमिट्यान्स नयाँ आर्थिक वर्ष लागेपछि निरन्तर घटिरहेको थियो । गत साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको रेमिट्यान्स भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो ।
यसैगरी असोजमा दसैँ परेका कारण केही सुधार भएर ८३ अर्ब ९५ करोड रुपैयाँ भित्रिए पनि कात्तिकमा पुनः घटेर ७३ अर्ब १० करोड रुपैयाँमा सीमित भएको थियो । कात्तिकदेखि माघसम्म ७० देखि ८० अर्ब रुपैयाँको बीच रेमिट्यान्स आएको तथ्यांकले देखाएको छ । गत मंसिरमा ७६ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा पुसमा यसमा केही सुधार भई ७९ अर्ब रुपैयाँ पुगेको थियो । माघमा भने घटेर ७१ पुनः अर्बमा खुम्चिएको थियो । यो वर्षको सुरूदेखि नै रेमिट्यान्स औषतमा ७० देखि ८० अर्ब रुपैयाँको बीचमा रहँदै आएकोमा फागुनमा यसले सुधारको संकेत देखाएको हो ।
विदेशी मुद्रा सञ्चितिलगायत देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको रेमिट्यान्स घट्नुले आर्थिक समस्या उत्पन्न हुनसक्ने अवस्थामा फागुनमा भएको वृद्धिले यसमा केही आशाको किरण देखिएको छ । मुलुकको अर्थतन्त्रको सम्बन्धमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्र गम्भीर संकटमा पुगेको भन्दै मुलुकको आर्थिक अवस्थाका बारेमा एमालेको धारणा सार्वजनिक गरेपछि अर्थमन्त्रालयले देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै अर्थतन्त्र सामान्य रहेको बताएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले देशलाई श्रीलंकाजस्तो बनाउन खोजियो भन्ने कुरा अफवाह मात्र भएको धारणा सार्वजनिक गरेका थिए । अहिले देशको अवस्था श्रीलंकाको जस्तो नभएको उनले जिकिर गरेका थिए । चुनावी रकमदेखि सामाजिक सुरक्षा भत्तासमेत दिन नसकेको भनेर हल्ला चलाएको समेत अर्थमन्त्रीले बताएका थिए । यिनै विषयलाई जोडेर देशमा श्रीलंकाजस्तै आर्थिक संकट हुन लागेको भन्ने कुरालाई केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनले भने आर्थिक अवस्थामा सुधारको संकेत देखाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar