ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई खेताला परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले एमबीबीएस प्रवेश परीक्षामा खेताला परीक्षार्थी बनेका किस्ट मेडिकल कलेजमा प्रथम र तेस्रो वर्षमा अध्ययनरत तीनसहित पाँच जनालाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको सम्सी घर भई किस्टमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय अमर पण्डित, प्रथम वर्षमै अध्ययनरत सर्लाही चक्रघट्टाका २२ वर्षीय अनिकेत चौधरी, तेस्रो वर्षमा अध्ययनरत सप्तरी राजगढका २६ वर्षीय रामआशिष यादव, भारत विहारका इस्तियाख अहमद र आफ्नो नाममा अर्कैलाई परीक्षा दिन लगाउने महोत्तरी सम्सीका २३ वर्षीय सन्नीकुमार साह छन् ।
विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार एमबीबीएसको प्रवेश परीक्षा भइरहेका केन्द्रमा छापा हानेर पाँच जनालाई पक्राउ गरेको हो । इस्तियाख अहमदलाई परीक्षा दिनकै लागि भारतबाट ल्याएको पाइएको छ । सन्नीकुमार साहको नाममा एम्बिसन कलेजमा परीक्षा दिइरहेको अवस्थामा अहमदलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए । सन्नीकुमार परीक्षा केन्द्रबाहिरबाट पक्राउ परेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई प्रलोभनमा पारेर नक्कली परीक्षार्थी बनाएको पाइएको छ । ‘फ्रि स्कलरसिप, पेइङ र पास मात्र गर्ने वर्गीकरणका आधारमा रकम दिने गरेको पाइएको छ,’ महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले भने, ‘नाम निकालिदिएबापत २ लाखदेखि १८ लाख रुपैयाँसम्म तिरेको पाइएको छ ।’ ५० हजारदेखि २ लाख रुपैयाँसम्म पहिल्यै दिएर परीक्षा दिन लगाएको उनले बताए ।
सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसी फाराम भराउने गरेको, परीक्षा प्रयोजनार्थ कतिपय अवस्थामा सक्कली परीक्षार्थीको नागरिकता विवरण नक्कली परीक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपि उल्लेख गरी नक्कली नागरिकतासमेत बनाएको पाइएको महाशाखाले जनाएको छ ।
सकेसम्म मिल्दो अनुहार भएकोलाई सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसेर फाराम भरेको र भारतीय मूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारेर झिकाई परीक्षा दिन लगाएको पाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar