काठमाण्डौ – गत चैत १५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गराइदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएको खुलेको छ ।
कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर झन्डै ५०/६० लाख रकम असुलेको पीडित परीक्षार्थीले बताएका छन् । कालिका माध्यमिक विद्यालयका शिक्षक खेमराज शाहीले परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाख असुलेको बताए । उनले प्रश्नपत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाउने गरेका थिए । यद्धपी अहिले ति व्यक्ति भने फरार छन् ।
फरार जगत शाहीले परीक्षा समयअगावै प्रश्नपत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेका थिए । प्रश्नपत्र उपलब्ध नगराएपछि रकम बुझाएका परीक्षार्थीले शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको होटल घेराउ गरेका थिए । त्यसपछि दुई तलाको घरबाट हाम फालेर भागेका शाही अझै फरार छन् । गैरकानुनी रूपमा रकम असुल्ने जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको सुर्खेत प्रहरी प्रमुख पदम विष्टले बताए ।
परीक्षा समयभन्दा अगाडि शाहीले शुक्रबार जेनिथ इन्स्टिच्युट र सुर्खेतस्थित एमपीजे मस्म सेन्टरबाट हस्तलिखित प्रश्नोत्तरसहितको फोटोकपी बाँड्दै रकम उठाएको पीडितहरूको भनाइ छ । उनीहरूले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायतका जिल्लाबाट आएका परीक्षार्थीबाट रकम असुलेका हुन् ।
अरू जिल्लामा पनि उनीहरूले आफ्नो गिरोहमार्फत पास गराउने आवश्वास दिँदै रकम असुलेको पाइएको छ । रकम असुल गर्नेमध्ये मनराज शाहीले आफू संलग्न नभएको दाबी गरे । ‘मेरा भाइहरू हुन सक्छन् । सुर्खेतमा मेरो होटल छ, मैले झगडा मिलाउन कल गरेको हो,’ उनले भने ।
कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय प्रमुख दीपा हमालले ट्युसन सेन्टरको बदमासी हुन सक्ने बताइन् । ‘यो प्रश्नपत्र शिक्षक सेवा आयोगको होइन,’ उनले भनिन् । प्रमुख जिल्ला अधिकारी खगेद्रप्रसाद रिजालले ठगी गर्ने अधिकार कसलाई नभएको भन्दै घटनामा संलग्नलाई चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar