काठमाण्डौ – तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटका क्रममा नेपालका कम्युनिष्ट नेताहरुले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआ)प्रति चासो देखाएका छन् ।
उनीहरुले बीआरआई परियोजना अगाडि बढाउन जोड दिएका छन् । आफ्नो भ्रमणको अन्तिम दिन आइतबार चिनियाँ विदेशमन्त्री यीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटका क्रममा दुबै दलका अध्यक्षसँग शीर्ष नेताहरुको पनि उपस्थिति रहेको थियो । कम्युनिष्ट नेताहरुसँग भेट्नुअघि चिनियाँ विदेशमन्त्रीले आइतबार विहान राष्ट्रपति विद्यादेबी भण्डारीसँग सितलनिवास पुगेर शिष्टाचार भेट गरेका थिए ।
राष्ट्रपतिसँगको शिष्टाचार भेटपछि चिनियाँ विदेशमन्त्री यी एमाले र माओवादी केन्द्रका नेताहरुलाई भेटन नक्सालस्थित होटल मेरियट होटल पुगेका थिए । अध्यक्ष ओली एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभाग प्रमुख डा। राजन भट्टराईसहित यीलाई भेटन पुगेका थिए । एमाले नेताहरुसँग चिनियाँ विदेशमन्त्रीले करिब आधा घण्टा कुराकानी गरेका थिए । ओलीसँगको भेटका क्रममा अन्य विषयका अतिरिक्त बीआरआईको विषयमा समेत कुराकानी भएको बताइएको छ । अध्यक्ष ओली र विदेशमन्त्री यीबीच बीआरआई परियोजनासँग जोडिएर अघि बढाउन खोजिएका आयोजनालाई मूर्तरुप दिनुपर्ने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा अध्यक्ष ओलीले द्विपक्षीय हितका विषय केन्द्रीत रहेर कुराकानी गर्दै नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, सिमा नाका निर्माणलगायतका आयोजना छिटो अगाडि बढाउनु पर्ने धारणा राखेका थिए । कोरोना महामारीपछि नेपालमा उत्पन्न समस्या समाधान गर्ने, हाल बन्द रहेका सिमा नाकाहरु खुलाउने, कोरोना महामारीका कारण नेपाल फर्किएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुको पढाई सुचारु गराउनेजस्ता विषयमा पनि अध्यक्ष ओलीले चासो देखाएका थिए । हुम्लाभन्दा पारी चीनमा करिव पाँच सय जना नेपाली अलपत्र परेको विषयमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । जवाफमा चिनियाँ विदेशमन्त्रीले सहमति छिटो कार्यान्वयनतर्फ लैजाने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यीबीचको वार्ता सकिनुअघि नै अध्यक्ष प्रचण्ड होटल मेरियट पुगेका थिए । अध्यक्ष प्रचण्ड नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेतलाई लिएर होटल पुगेका थिए । प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच पनि आधा घण्टाभन्दा बढी कुराकानी भएको थियो ।
भेटका क्रममा प्रचण्डले पनि बीआरआईअन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा लैजान चिनियाँ विदेशमन्त्रीसँग आग्रह गरेका थिए । नेपालले बीआरआई सम्झौतामा सन् २०१७ मा हस्ताक्षर गरेको
थियो । तर, हालसम्म पनि त्यसअन्तर्गतका कुनै परियोजना अघि बढ्न सकेका छैन ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले व्यापार घाटा बढ्दै गएकोले त्यसलाई सहजीकरण र सन्तुलित गर्नेबारे पनि कुरा राखेका थिए । चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धबारे पनि छलफल भएको बताइएको छ ।
भारतको नयाँदिल्लीबाट शुक्रबार नेपाल आइपुगेका चिनिया विदेशमन्त्री आइतबार नै स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रपति डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए । चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा शनिबार नेपाल र चीनबीच नौ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्र र कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसैगरी नेपालमा चीन–नेपाल अन्तरदेशीय रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र र अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजनासम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको थियो । यसैबीच, चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
यसैबीच, नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन् । वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसकेका छन् । चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar