काठमाण्डौ – सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ ।
कांग्रेसको महाधिवेशनका क्रममा आन्तरिक रुपमा छताछुल्ल भएको थियो । त्यो विवाद पछिल्लो समय झनै झाँगिदै गएको देखिन्छ । पछिल्लो समय कांग्रेस नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी निर्णय गर्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने चेतावनी दिएको छ । नेता कोइरालाले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका भ्रातृ संगठनका पूर्वनेता र केही केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएका थिए ।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा भएको बैठकमा नेताहरुले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकतर्फी गरेको भन्दै चरम असन्तुष्टि जनाएका छन् । अध्यक्ष देउवाले बुधबारमात्र नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । त्यसको भोलिपल्टै बसेको कोइराला समूहको बैठकले सभापति देउवाले १४औं महाधिवेशनमा मत नदिनेलाई दबाउन खोजेको निष्कर्ष निकालेको छ । रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई अर्को समूहको नाम दिएर सभापति देउवाले एकलौटी गरेको उनीहरुको दाबी छ ।
सभापति देउवाले एकतर्फी निर्णय गर्दै गए समानान्तर कमिटी गठन गर्नुपर्ने राय बैठकमा सहभागी धेरैले दिएको बैठकका एक सहभागीले बताए । स्थानीय तह निर्वाचनको संघारमै पार्टीभित्रको विवाद चुलिँदै जानु भने गलत भएको ति नेता बताउँछन् । ‘हामी स्थानीय तह निर्वाचनको संघारमा छौं । यतिबेला पार्टीलाई जित दिलाउनु सबै नेता/कार्यकर्ताको दायितत्व हो । तर, पार्टीभित्रको निरंकुशता यसरी नै बढ्दै गए सँधै सहेर बस्ने कुरा पनि आउँदैन । हामीले पनि यस्तै सुझाव दिएका छौं,’ उनले भने ।
बैठकमा उपसभापतिमा पराजित चन्द्र भण्डारी, केन्द्रीय सदस्य प्रतिमा गौतम, गोविन्द पोखरेललगायत सहभागी थिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गुरुराज घिमिरे, केशव सिंह, तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाही, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, नेपाल विद्यार्थी संघका पूर्वनेता मनोजमणि आचार्य, दिनेश राई, मोती भण्डारी, रिता खनाललगायतका नेताहरु बैठकमा सहभागी थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar