काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप छ। अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो। २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनियमितता गरेको अख्तियारले जनाएको छ। त्यतिबेला १ सय ६८ जना परिक्षार्थीको नतिजा फेरबदल गरिएको अख्तियारले दाबी छ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सवारी चालक अनुमतिपत्रको परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको बताए। यातायात व्यवस्था कार्यालयका तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
२०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको योगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरूलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्य गरेको अख्तियारले जनाएको छ।
प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका १ सय ६६ जनाको दर्ता प्रणालीमा परिणाम अध्यावधिक तथा प्रमाणित गर्ने क्रममा पास गरेको अख्तियारले जनाएको छ। यस्तै, दुई जना प्रयोगात्मक परीक्षामा पास भएकाको परिणाम अपडेट गर्दा फेल गराइएको भेटिएको अख्तियारले जनाएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफाबमोजिमको अधिकतम सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले बताए।
त्यस्तै, वीरगन्ज महानगरपालिका – १४ का वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ। अख्तियारले वडासचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी, सञ्जयकुमार पटेल र कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीलाई प्रतिवादी बनाएको छ। अनुसन्धानमा क्रममा उनीहरूले घरबाटो सिफारिस, विवाह दर्ता, मृत्यु दर्तालगायतका सिफारिसमा अनियमितता गरेको अख्तियारको आरोप छ। अन्नपुर्णपोष्ट बाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar