काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा सत्ता गठबन्धन सँगै रहने/नरहने नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन्।
प्रेस सेन्टर नेपालले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले तत्काल एमालेसँग सहकार्यको कुनै योजना नभए पनि कांग्रेसको व्यवहारले आगामी कार्यदिशा निर्धारण गर्ने बताए। एमालेसँग चुनावी गठबन्धनको सम्भावना कत्तिको छ भन्ने पत्रकारको प्रश्नमा दाहालले भने, ‘तत्काल एमालेसँग सहमतिको सम्भावना देखिँदैन तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन। कांग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन।’ उनले कांग्रेसका केही अतिवादी नेताले कुनै हालतमा चुनावी तालमेल हुँदैन भन्ने अभिव्यक्ति दिइरहेका कारण गठबन्धनमा असर पर्न सक्ने विचार व्यक्त गरे।
दाहालले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धन बचाएरै जानुपर्ने पक्षमा रहेकाले एमालेसँग चुनावी तालमेल गर्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे। ‘कांग्रेसका केही नेताले निर्वाचनमा कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवादी ढंगले बोल्न थाल्नुभएको छ तर देउवाजीले त्यसरी नबोल्न भनिसक्नु भएकाले अवस्था त्यतातिर नजाला भन्ने पनि छ,’ दाहालले भने। चुनावी तालमेल भए पनि स्थानीय आवश्यकताका आधारमा केही स्थानमा मात्रै हुने भन्दै दाहालले आफ्नै अजेन्डा र शक्तिमा निर्वाचन जित्ने गरी लाग्न कार्यकर्तालाइ निर्देशन दिए। पार्टीको सामाजिक, आर्थिक र राजनीतिक अजेन्डासहित उत्साहका साथ निर्वाचनमा होमिनुपर्ने उनको भनाइ थियो।
राजनीतिक र सामाजिक जागरणसहित जनतालाई आर्थिक रूपमा सम्पन्न गराउने पार्टीको मुख्य लक्ष्य रहेको भन्दै दाहालले सोही नारा लिएर जनताको घरघरमा जानुपर्ने बताए। माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका लागि बिहीबार बुटवल आएका दाहाललले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने दोहोर्याए। एमसिसी सम्झौता अनुमोदनको प्रसंग कोट्याउँदै दाहालले सत्ता गठबन्धन र देश दुवैलाई संकटबाट पार लगाउन केही विषय परिमार्जन गरेर त्यसलाई प्रतिनिधिसभाबाट पारित गर्नुपरेको बताए। दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली कुण्ठाले भरिएको व्यक्ति भएको भन्दै उनलाई देश र जनताप्रति कुनै चिन्ता र चासो नभएको बताए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar