काठमाण्डौ – फागु (होली) पर्व मनाउन शिशा (लिड) मिसाइएको रंगको प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले विभिन्न प्रकारका रोगलाई निम्त्याउँदै हुनुहुन्छ ।
सांस्कृतिक पर्व मनाउने क्रममा लिडयुक्त रंग र पेन्टहरूको प्रयोगलाई छालालगायत विभिन्न प्रकारका खतरनाक रोगको घरसरह मानिन्छ । वातावरण वैज्ञानिक एवं जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार घर, काठ र फलामे फर्निचर रंगाउन प्रयोग गरिने विभिन्न प्रकारका लिडयुक्त रंग पछिल्लो समय फागु पर्वमा अनुहारमा दल्ने चलन सुरु भएको छ । फागु पर्वमा बजारमा पाइने रंगदेखि अबिरसम्ममा छालालाई हानी पु¥याउने रासायनिक तत्व मिसाइएका हुन्छन् । पछिल्लो समय फागु पर्वमा केटाकेटीदेखि युवायुवतिसम्ममा यस्ता रंग, पेन्ट र अबिर प्रयोग गर्ने मोह बढेको छ ।
‘यस्ता रंग, पेन्ट र अबिर निकै टल्कने हुन्छ । त्यसैले पनि युवा पुस्तामा यस्ता रंग र पेन्ट अनुहारमा दल्ने मोह अत्यधिक बढेको हो । यस्ता रंग र पेन्टहरू मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ,’ उनी भन्छन् । घातक रासायनिक तत्व मिसाइएका यस्ता रंग, पेन्ट र अबिरका कारण आँखाको ज्योतिसमेत गुम्नसक्ने ठूलो सम्भावना रहन्छ । वातावरण वैज्ञानिक साहले फागु पर्वमा सकेसम्म हर्वल रंग र अबिर मात्र प्रयोग गर्न सुझाव दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ डा. अनिल दासका अनुसार लिडयुक्त रंग र पेन्टको प्रयोगले छालामा एलर्जी हुने, छाला डढाउने, फोका आउने, अन्य छालाजन्य रोग लागेर दाग बस्ने र अनुहारमा चाउरीपन आउने समस्या हुन्छ । यस्ता हानिकारक रंग, पेन्ट र अबिर आँखामा प¥यो भने आँखाको ज्योतिसमेत गुम्ने डर हुन्छ । रसायनयुक्त रंगले छालाको क्यान्सर तथा अबिरको प्रयोगले दम र श्वासप्रश्वाससम्बन्धी रोग पनि लाग्नसक्ने सम्भावना हुन्छ ।
डा.प्रकाश बुढाथोकीका अनुसार बजारमा रसायन मिसाइएका कृत्रिम रंगको बोलवाला छ । विभिन्न प्रकारका अप्राकृतिक र मिसावटयुक्त रंगको प्रयोग होलीमै हुन्छ । त्यसले फोक्सो, छाला, आँखा, दाँत, मुख, नाक, कान, घाँटी, कपाल लगायतका अंगमा ठूलो असर गर्छ । यसैगरी होलीमा लोला प्रहारले आँखामा क्षति पुग्ने, दृष्टि गुम्ने, कानको पर्दा च्यातिने, विभिन्न प्रकारका संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्ने र कान तथा संवेदनशील अंगमा लाग्दा घाइते, बेहोस र मृत्यु पनि हुन सक्छ ।
यसैगरी मदिरा, भाङजस्ता नसालु पदार्थ सेवन गरेर होली खेल्दा अन्जानमा यस्ता घातक रङहरू आँखा, नाक, मुख हँुदै शरीरभित्र प्रवेश गर्नसक्छ । शरीरभित्र प्रवेश गरेपछि यस्ता रंग श्वासनली, मुटु, मिर्गाेलाजस्ता संवेदनशील अंगमा गएर टाँसिन्छन् । यसका अतिरिक्त रंगलाई तेलमा मिसाएर छालामा लगाउँदा झनै समस्या बढ्छ । घातक रसायन मिसिएका रंमा हुने हानिकारक तत्वले छाला र आँखासम्बन्धी विभिन्न अल्पकालीन तथा दीर्घकालीन समस्या निम्त्याउन सक्नेमा चिकित्सकहरू एकमत देखिन्छन् ।
अधिकांश अजैविक सुक्खा रंग र अबिरमा हुने ‘कलरेन्ट’ र ‘अस्वेष्टस’ वा ‘सिलिका’ दुवै तत्व मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुन्छन् । अस्वेष्टसले कयान्सरको जोखिम बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ । रंगमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रङ र वस्तु मिसाइँदा त्यस्ता रंगहरू दिन प्रतिदिन हानिकारक बन्दै गएको छ । रंग वा अबिर धेरै दल्दा सुन्दरता नै गुम्ने खतरा पनि हुन्छ । चिकित्सकका अनुशार, छालामा घाउ भएका मानिसले होली नखेल्दा नै राम्रो हुन्छ ।
सुक्खा र गिलो रंले दम बढाउने र ब्रोनकाइटिस हुनेगर्छ । कपाललाई पनि खस्रो र जर्राे बनाउँछ । रंगले छालामा एलर्जी भएर पोल्ने, फोका उठ्ने, एक्जिमा (छाला चिलाउने), घर्षण भई जलन र घाउखटिरा आउने, छाला सुक्खा हुने, फुट्ने, रगत आउने, छालाको रंगमै परिवर्तन हुने, घाममा रंग दल्दा छालामा टाँसिएर छालाको बाहिरी र भित्री तहमा क्षति पुग्ने हुन्छ । खासगरी रंगमा मिसाइने जिंक क्लोराइडयुक्त रङ दलेपछि छाला चिलाउँछ । यस्तो रंग मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । स्वास्थ्यकर्मीहरूका अनुसार लिड प्रयोग गरिएका रंग र पेन्टहरू छाला, श्वासप्रश्वास र खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । शरीरमा प्रवेश गर्ने यस्ता तत्वले विषको रूपमा काम गर्छ । थोरै मात्राले पनि ठूलो असर गर्छ ।
रक्त नलीमा यसले रातो रक्त कोषिकाहरूलाई मार्ने सम्भावना हुन्छ । जसले गर्दा विभिन्न अंग तथा तन्तुहरूलाई चाहिने आवश्यक अक्सिजनको आपूर्तिलाई अवरुद्ध गर्नसक्छ । धेरैजसो लिड हाडमा गएर बस्छ । जसले गर्दा रक्त कोषिकाको उत्पादनमा कमी र हाडलाई चाहिने क्याल्सियमको उपलव्धतामा कमी ल्याएर हाडलाई स्वस्थ्य तथा बलियो हुनबाट रोक्नेगर्छ । लिडले मस्तिष्क र स्नायु प्रणालीको विकासमा पनि अवरोध पु¥याउँछ । यसबाहेक पेट दुख्नु, कब्जियत हुनु, अनिन्द्राको समस्या बढ्नु, टाउको दुख्नु, छारे रोग लाग्नुका साथै चिडचिडाहटपन पनि हुनसक्छ । ‘लगातार लामो समयसम्म लिडको सम्पर्कमा आइरह्यो भने यसले मिर्गाैलाको कार्यमा समेत असर पु¥याएर बाँझो वा नपुंसकजस्ता रोगलाई निम्त्याउन सक्छ’, डा. दासले भन्छन्, ‘यसको रोकथामका लागि खासगरी अभिभावक आपैmँ सचेत हुन जरुरी छ ।’
वातावरण वैज्ञानिक साहका अनुसार लिडयुक्त रंगको प्रयोगले सबैभन्दा बढी बालबालिकाको लेख्ने र पढने क्षमतामा असर पार्छ । गर्भवती महिलाहरूका लागि झन् खतरनाक मानिन्छ । अत्याधिक टल्कने र चाँडै सुक्ने विशेषता भएका यस्ता रंगमा विभिन्न प्रकारका रासायनिक तत्व मिसाइएका हुन्छन् । लिड प्रकृतिमा पाइने निलो र खैरो रंको भारी धातु हो । यसको प्रयोग खासगरी पेन्ट, व्याट्रीलगायत अन्य विभिन्न प्रकारका धातुका सामानहरूमा हुने गरेको पाइन्छ । नेपालमा पाइने सबै खालका पेन्टमा अत्यधिक मात्रामा लिड पाइएको छ । नेपालमा पाइने पेन्टहरूमा सबैभन्दा कम ३ दशमलव ९८ पिपिएम र सबैभन्दा बढी ७३ हजार ९ सय ६६ दशमलव ४ पिपिएमसम्म लिड पाइएको छ । यो परिमाण अमेरिकी मापदण्ड ९० पिपिएमभन्दा झन्डै ८ सय २२ गुणाले बढी हो ।
कुन रंगमा कस्ता रसायन
फागु पर्वमा अत्यधिक खपत हुने कालो रंग, भान्टा रंग र सोही रंगको अबिरमा लेड अक्साइडको अत्यधिक प्रयोग गरिएको हुन्छ । हरियो रंग र सोही रंगको अबिरमा कपर सल्फेट रसायनको प्रयोग भएको हुन्छ । यसैगरी सेतो रंग र सोही रंगको अबिरमा भने एल्मुनियम ब्रोमाइड मिश्रण गरिएको हुन्छ । रातो रंग र सोही रंगको अबिरमा मरमरी सल्फाइड, पहेलो रंग र सोही रंगको अबिरमा क्रोमियम ब्रोमाइड रसायनको प्रयोग गरिएको हुन्छ ।
कालो रंग प्रायः लिड अक्साइडबाट निर्माण हुन्छ । यसको प्रयोगले मिर्गौलालाई हानि गर्छ । हरियो रंग निर्माण गर्न कपर सल्फेट प्रयोग हुन्छ । यो रंगको प्रयोगले आँखालाई नोक्सानी गर्छ । हल्का बैजनी रंग क्रोमियम आयोडाइडबाट निर्माण हुन्छ । यसले श्वास प्रश्वासमा असर गर्छ । यसैगरी पर्सियन ब्लुबाट निर्माण हुने नीलो रंगको प्रयोगले छालालाई असर गर्छ । रातो रंग बनाउन मर्करी सल्फेट प्रयोग गरिन्छ । यो रंग प्रयोग गर्दा छालाको क्यान्सर हुन्छ । सिल्भर रंग तयार गर्न अल्मुनियम ब्रोमाइड भन्ने रसायनको प्रयोग हुन्छ । यो रंगको प्रयोग गर्दा क्यान्सर निम्त्याउँछ ।
कस्तो रंगको प्रयोग गर्ने ?
होली खेल्दा राम्रो तथा गुणस्तरीय पाउडर वा पानीमा घुलनशील शुद्ध रंगको मात्र प्रयोग गर्नुपर्छ । गोल्डेन, सिल्भर रंग तथा सिलिका मिसाइएका रंग प्रयोग गर्नु हँुदैन । रंग पानीसँग मिसाएर प्रयोग गर्नुहुँदैन । रंगलाई बढी गाढा बनाउने बहानामा तेजावी र कृत्रिम रङ थप्नु हुँदैन । छाला शरीरको सुरक्षा कवच भएकाले बाहिरी रसायनलाई रगतमा जानबाट रोक्छ । रंग लगाउँदा आँखा, मुख बन्द गर्ने, कृत्रिम रंग, फोहर पानी, बेलुन र लोलाको प्रयोग गर्नुहुँदैन । आँखामा रंग पस्यो भने घाउ र अल्सर हुने तथा कोर्नियामा क्षति पुग्ने हुन सक्छ ।
खेल्नुअघि यो उपाय गरौँ
रंग खेल्नुअघि शरीरमा सकेसम्म नरिवलको तेल लगाउँदा उत्तम हुन्छ । होली खेल्नुअघि अनुहार र हातमा मोइस्चराइजर, सनस्क्रिन क्रिम र फाउन्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइट फिट चस्मा लगाउन सकिन्छ । यसले गर्दा छालामा रंग र अबिरबाट हुने असरलाई कम गर्छ । रंग पनि सजिलै छुटाउन सकिन्छ । रंग खेल्नुअघि कपुर वा नारिवलको तेल पनि लगाउन सकिन्छ । यसले गर्दा रंग र अबिरमा प्रयोग गरिएको रसायनको प्रभावलाई न्यूनीकरण गर्न सहयोग गर्छ ।
यसरी छुटाऔँ रंग
फागु पर्वको रंग निकाल्न तातो पानी कहिले प्रयोग गर्नुहुन्न । सकेसम्म चिसो पानी प्रयोग गर्नुपर्छ । कपालबाट रंग निकाल्न पहिले अण्डा र दहीको पेस्ट बनाएर कपालमा लगाउन सकिन्छ । केही समयपछि मात्रै स्याम्पुको प्रयोग गर्नुपर्छ । फागु पर्वको एक दिनअगावै दुई चम्चा मेथीको दाना, शिकाकाई पाउडर ६ चम्चा र तीन चम्चा अमला पाउडरमा तीन कप पानीमा उमालेर चिसो बनाउने ।
चिसो बनाइएको यो झोललाई कपालमा लगाएर कपाल धुन सकिन्छ । अनुहार र शरीरको विभिन्न स्थानमा लागेको रंग र अबिर निकाल्न साबुन र फेसवासभन्दा बेसन, दूध वा दही तथा गुलाब जल मिसाएर पेस्ट बनाएर अनुहारमा बिस्तारै प्रयोग गर्नुपर्छ । नरिवलको तेल लगाएर पनि अनुहार र शरीरको अन्य भागको रंग निकाल्न सकिन्छ । मुल्तानी माटोलाई ग्लिसरिन र गुलाबजलमा मिसाएर रंग लगाइएको भागमा लगाएर सुक्न दिने । केही समयपछि चिसो पानीले धोएमा रंग निस्केर जान्छ । कागती र ऐलोबेराको पल्पलाई मिसाएर रंग निकाल्दा भित्रैबाट रंग छोडाउन सकिन्छ ।
कानुनले के भन्छ ?
होली पर्व मनाउने क्रममा सुरक्षित र मर्यादित भएर एकले अर्कालाई शुद्ध रंग लगाएर खेल्नुपर्छ । आपसमा मिलेर सौहाद्रपूर्ण वातावरणमा रंग खेल्न कानुनले निषेध गरेको छैन । संस्कृति संरक्षणलाई कानुनले मान्यता र समर्थन गर्छ । तर, विकृतिजन्य कार्यलाई मुलुकी अपराध संहिता–२०७४ ले हुलदंगा गर्न नहुने, सार्वजनिक शान्तिमा खलल पार्न नहुने, सार्वजनिक स्थानमा अवागमनमा बाधा पार्न नहुने, सार्वजनिक सेवा अवरूद्ध गर्न नहुने, अभद्र व्यवहार गर्न नहुने, सामाजिक रीतिथितिमा खलल पार्न नहुने, तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्न नहुने, आपराधिक बल प्रयोग गर्न नहुने, कसुर गर्ने नियतले बेहोस पार्न नहुने भनी त्यस्ता कार्यलाई अपराध मानी कैद तथा जरिवाना सजायको व्यवस्था गरेको छ ।
यसैगरी सुरक्षित, अनुशासित र सहज ट्राफिक व्यवस्थापनका लागि सवारी तथा यातायात व्यवस्था ऐन, मदिरा व्यवस्थापन तथा नियन्त्रणका लागि मदिरा ऐन–२०३१, लागुऔषध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण ऐन–२०३३ सहित अन्य कानुनहरूले पनि अवाञ्छित गतिविधिहरूको नियन्त्रण र उचित व्यवस्थापन गरेको छ ।
ट्राफिक व्यवस्थापनमा कडाइ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन बिहीबार काठमाडौं उपत्यकाका जिल्लामा १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाउने भएको छ । फागु मनाउने क्रममा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित पर्व बनाउने उद्देश्यले महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार पारी पर्याप्त जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो ।
महाशाखाका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इञ्जार्जलाई बुधबार ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका छन् । ‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको चुनौती तथा खतरालाई विश्लेषण गरेर प्रविधि उपकरणको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ’, जोशीले भने ।
बिहानैदेखि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने जानकारी पनि उनले दिए । महाशाखाले उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।
अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने र मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारी साधनमार्फत महिलालाई अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउनेमाथि विशेष निगरानी गरिने बताइएको छ ।
अवाञ्छित गतिविधिमा निगरानी
जिल्ला प्रशासन कार्यालयले काठमाडौंले बुधबार एक सूचना प्रकाशित गरी फागु पूर्णिमा (होली) मनाउने क्रममा कुनै पनि अवाञ्छित गतिविधि नगर्न सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रशासन कार्यालयले मर्यादित तरिकाले फागु पर्व मनाउन पनि अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले कसैको इच्छा विपरीत रङ, लोला तथा पानी छ्याप्ने कार्य नगर्न पनि सचेत गराएको छ । ‘इच्छा विपरीत कसैलाई मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक ठाउँहरूमा होहल्ला गर्ने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्यहरू नगर्न÷नगराउनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ’, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवकुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।
फागु पूर्णिमा मनाउने क्रममा अवाञ्छित गतिविधि गरे÷गराएको पाइएमा कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर मात्र फागु मनाउन पनि अनुरोध गरिएको छ ।
‘विगत केही वर्षदेखि देखापरेको विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणको जोखिम हालसम्म कायमै रहेको सन्दर्भमा स्वास्थ्य सतर्कता अपनाएर नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी होली पर्व मनाउनु हुन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ । प्रशासन कार्यालयले फागु पर्वको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गरेको छ । देशको पहाडी क्षेत्रमा बिहीबार फागु पर्व मनाइँदै छ । तराई क्षेत्रमा शुक्रबार होली पर्व माइन्छ । यसैगरी यसपटक मिथिला परिक्रमाका कारण मधेस प्रदेशमा भने शनिबार मात्र होली पर्व मनाइने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar