मकवानपुर – आगामी फागुन २९ गतेका लागि बागमती प्रदेशसभा बैठक पुनः आह्वान गरिएको छ ।
एमालेको निरन्तर अवरोधका कारण अनिश्चित बन्दै आएको प्रदेशसभा बैठक पुनः फागुन २९ गतेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विगत ७० दिनदेखि एमालेको अवरोधका कारण बागमती प्रदेशसभा बैठक चल्न सकेको छैन । गत पुस ७ गते बसेको प्रदेशसभाको ९ औं अधिवेशनको बैठकमा एमालेले विभिन्न माग राख्दै अवरोध गरेपछि त्यस यता बैठक बस्न सकेको छैन ।
प्रदेशसभा बैठक संचालनको लागि सभामुख सानुकुमार श्रेष्ठको पहलमा सर्वदलीय बैठक बसेर फागुन १६ गतेका लागि बैठक आह्वान गरिएको भएपनि बैठक बस्न सकेको थिएन । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक फागुन ४ गते बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि आह्वान गरिएको भएपनि अघिल्लो दिन नै बैठक स्थगित गरिएको थियो ।
प्रदेशसभा सचिवालयले फागुन १४ गते सूचना जारी गर्दै बैठक स्थगित गरेको थियो । सचिवालयले फागुन १६ गते दिउँसो १ बजेका लागि तय गरेको प्रदेशसभा बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो फागुन १६ गतेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सूचना टाँसेर पुनः स्थगित गरिएको स्रोतको भनाइ छ । एमालेले संसद चलाउन नदिने अडानमा रहेकाले बैठक अनिश्चितकालका स्थगित गरिएको बागमती प्रदेश सरकारका एक मन्त्रीले बताए ।
‘प्रदेशसभाको बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो तर उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध नहट्ने भएपछि बाध्य भएर स्थगित गरिएको हो ।’ उनले भने । बैठक अघि सभामुख श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक र सर्वदलीय बैठक पनि राख्ने तयारी थियो । तर, प्रदेशसभा बैठक स्थगित भएसँगै कार्यव्यवस्था परामर्श समितिको बैठक र सर्वदलीय बैठक पनि स्थगित भयो ।
आगामी २९ गतेका लागि आह्वान गरिएको बैठक बस्नेमा सरकार विश्वस्त रहेको उनले बताए । एमालेले सदनमा अवरोध गर्नुपर्ने कुनै कारण नभएको भन्दै उनले एमालेले उठाएका विषयको सरकार जवाफ दिन तयार रहेकाले सदनको अवरोध हट्ने विश्वास व्यक्त गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar