किएभ – रसियाको आक्रमणको पहिलो दिन यी दुईले विवाह गरेको केही घण्टा मात्रै बितेको थियो ।
यारयिना एरिइभा र साइयातोस्लब फर्सिनले लगत्तै आफ्नो देश जोगाउनका लागि लडाईंमा समावेश भए । यो जोडीले मे महिनामा विवाह गर्ने योजना बनाएका थिए तर गत हप्ता किभमा रसियाले आक्रमण गरेपछि हतारमा विवाह गरे र युक्रेनी प्रतिवादमा उत्रिए । क्यामोफ्लज ज्याकेट लगाएर राइफल बोकेर यो जोडीले सीएनएनसँगको कुराकानीमा आफ्नो हनिमुन घेराबन्दी गरिएको शहरमा बसेर र आफ्नो जन्मभूमिमा प्रवेश गर्ने रसियाली सेनाविरुद्ध लड्नका लागि हतियार उठाएर व्यतित गरिरहेको बताए ।
‘हाम्रो हालको नयाँ वास्तविकता बुझ्न निकै गाह्रो छ,’ किभकी एरिइभाले भनिन् । उनका अनुसार यो स्प्रिङका सुरुवाती दिन हुन् । यतिबेला मानिसले युक्रेनको राष्ट्रिय फूल सनफ्लावर रोप्ने गर्छन् तर अहिले उनीहरु रसियाविरुद्ध लड्न व्यस्त छन् । ‘यहाँ कसैले पनि हामी हार्छौँ भनिरहेका छैनन् न नै कोही रोइरहेका छन् । हामीले जित्नेछौँ भन्ने हामी सबैको विश्वास छ । यो समयको कुरा मात्रै हो । यहाँ यति धेरै मानिस लड्नका लागि तयार देख्दा मलाई असाध्यै खुसी लागेको छ । देशका लागि कसैको हत्या गर्न तयार हुनु । युद्धमा जित्ने कुरामा कसैलाई पनि शंका नहुनु,’ उनले भनिन् ।
उनका श्रीमान् फर्सिन इलभिभको पश्चिमी शहरका हुन् । उनले भने, ‘मानिस सधैँ स्वतन्त्र हुन चाहन्छ । यहाँ मानिस आफ्नो स्वतन्त्रताका लागि लड्न तयार छन् ।’ कम्ब्याट मिसनमा जाँदा उनलाई आफ्नो परिवार – श्रीमती, अभिभावक र बहिनीको सुरक्षाको भने चिन्ता छ । उनले भने, ‘म उनीहरुको रक्षाका लागि जे पनि गर्न तयार छु ।’ एरिभाले आफू दैनिक काम गरिरहेको र श्रीमानलाई कमब्याट मिसनबाट फर्कनका लागि कुर्न असाध्यै गाह्रो हुने उनले बताइन् । यद्यपि, आफूहरुले एक–अर्कालाई भरपुर सहयोग गरिरहेको बताएकी छिन् ।
‘जीवन भिन्न भएको छ, तर यो जीवन हो । मानिस ठट्टा गर्छन्, हास्छन् । यस्तो देख्दा निकै रोचक लाग्छ । युद्ध सुरु भएसँगै जीवन अर्कै भएको छ तर यही जीवन हो,’ उनले भनिन् । यो जोडीले अन्तर्राष्ट्रिय समुदायलाई पैसा, खाना, हतियार र उपचारको सहायताका लागि आह्वान गरेका छन् । साथै यी दुईले रसियामाथि थप प्रतिबन्ध लागू गर्न पनि माग गरेका छन् । फर्सिनले भने, ‘म त्यो दिनको प्रतिक्षामा छु जहाँ म परिवार र साथीभाइसँग एकैठाउँ बसेर एक गिलास मिठो वाइन खाँदै सबैको अगाडि ‘हुर्रे, युद्ध सिद्धियो, हामीले जित्यौँ,’ भन्न सकौँ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar