मन्त्री पदको कुर्सी जोगाउन टेबल गर्न दिने भनेकोप्रति आपत्ति
काठमाण्डौ – शनिवार बसेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको प्रतिक्रियाले अहिले पार्टीमा खैलाबैला मच्चिएको छ ।
शनिवार बसेको पार्टीे स्थाई कमिटी बैठकले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबल गर्न दिने निर्णय गरेपनी बैठकमा सहभागी भएका पार्टीका सम्मानित नेता खनालले आजको बैठकमा एमसीसी सम्झौता संशोधनविना नस्वीकार्ने निर्णय भएको बताएपछी अहिले पार्टीभित्र खैलाबैला मच्चिएको हो । पुर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले स्थायी कमिटी बैठकले एमसीसी सम्झौता संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको दोहोर्याएका छन् । त्यस्तै खनालले आफ्नो पार्टीले एमसीसी सम्झौता टेबल गर्न दिने या नदिने भन्ने कुनैपनी निर्णय नै नगरेको दाबी समेत गरे ।
बैठकपछि नेकपा एसका नेताहरूले एमसीसी सम्झौता टेबल गर्न र संसद्मा छलफल गर्न दिने निर्णय गरेको बताएका थिए । तर नेता खनालले भने त्यसको खण्डन गर्दै टेबल गर्नै नदिने निर्णय भएको बताएका छन् । ‘आज बसेको स्थायी कमिटी बैठकको ठोस निर्णय भनेकै एमसीसी सम्झौता विना संशोधन स्वीकार नगर्ने भन्ने हो’, नेता खनालले भने, ‘एक मतले यथास्थितिमा एमसीसी नस्वीकार्ने भन्ने नै हो, टेबल गर्न दिने नदिने आदि केही पनि निर्णय भएकै छैन ।’ उनले भने ।
नेता खनालले त्यसबाहेकका प्रक्रिया र निर्णयका बारेमा गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर जाने निर्णय भएको बताए । ‘बाँकी कुरामा हामी मात्रै छैनौ, गठबन्धनमा पाँच दल छौ, यो पाँच दलको बीचमा छलफल गरेर के गर्ने र त्यसको प्रक्रिया के हुने भन्ने टुंगोमा पुग्छौ भनेका हौ ।’ त्यस्तै उनले पार्टीका कुन कुन नेताले कसरी बुझे त्यो आफूलाई थाहा नभएको र सत्तामा भएकाहरूले कुर्सी जोगाउन टेबल गर्न दिने भनेर बोलेकोमा आपत्ति समेत जनाए ।
बैठकको अन्तिममा मन्त्री समेत रहेकी पार्टी सचिव रामकुमारी झाँक्रीले एमसीसी सम्झौता संसद्मा छलफल गर्नका लागि पार्टीले टेबल गर्न दिने निर्णय गरेको बताएकी थिइन् । त्यस्तै बैठकपछि पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै एमसीसी सम्झौता टेबल गर्ने विषयमा आपत्ति नरहे पनि दलहरूको सहमतिमा मात्रै टेबल गर्न सकिने बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar