हजारौं वर्ष देखिको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको बय्लाछि सत्तल मासेर काठमाडौं महानगरपालिका – २७ मा व्यापारिक भवन बनाउन लागिएको छ ।
ज्याठा टोलस्थित गुणाकर महाविहारको अभिन्न अंग रहेको सत्तल र खुल्ला स्थान नै नामेट पारेर भवन निर्माणमा स्वयं महानगरप्रमुखकै सक्रियता देखिएको छ । यो निर्णयसँगै स्थानीय र संस्कृतिविद्ले आक्रोश पोखेका छन् । पुरातात्विक र ऐतिहासिक महत्वको गुणाकर महाविहार, छुस्याबहाल । यसै बहालको अभिन्न अंगको रूपमा रहेको उत्तरतिर रहेको बय्लाछि सत्तलको अस्तित्व नै समाप्त हुन लागेको छ ।
वर्षौंदेखि उपाकु पर्वको बेला नगर परिक्रमा गर्दा मानिस आराम गर्ने यो सत्तल र खुल्ला स्थानमा स्थानीय क्लबसँग मिलेर २७ नम्बर वडाले आफ्नो व्यापारिक भवन बनाउन लागेको छ । वि.सं २०२२ सालमा यस स्थानमा बाटो बनाएपछि सत्तल नासिएको र खुल्ला क्षेत्र खुम्चिएको थियो । बाटो बनेपछि सुरक्षाका लागि अहिले भवन बन्न लागेको स्थानमा रहेका पुरातात्विक महत्वका हराहर लोकेश्वरको मूर्ति र महावैरोचनको दुर्लभ रम्यकुतागार चैत्य २०२७ सालमा महाविहार भित्र सारिएको थियो । जसको प्रामाणिक शिखालेख समेत महाविहार भित्र सुरक्षित छ ।
बय्लाछि सत्तलको भग्नावशेष समेत तत्स्थानमा अहिले पनि रहेको छ । वयोवृद्ध बौद्ध विद्धान विजय रत्न बज्राचार्य आफनो विगत सुनाउँदै अहिले बन्न लागेको वडा भवन छुस्याबहाल कै भाग भएको बताउनुहुन्छ । सत्तलको खुल्ला ठाउँ यथावत राखेर मासिएको सत्तल पुनःनिमार्ण गर्नुपर्ने उहाँको भनाइ छ । ज्याठा क्षेत्रमा खुल्ला स्थानको नाममा यही स्थान मात्र बाँकी छ । घाम ताप्ने, बच्चालाई तेल लगाउने, अनाज सुकाउनेदेखि प्राकृतिक विपत्तिको बेला आश्रय लिने ठाउँको रूपमा यो ठाउँ नियमित प्रयोग हुँदै आएको स्थानीय बताउँछन् ।
महाविहार र परम्परागत सर्व संघका सदस्य अच्युत बज्राचार्य पनि संरक्षण नै गर्ने हो भने व्यापारिक भवन नभई मौलिक स्वरूपमा बय्लाछि सत्तल बनाउनुपर्ने धारणा राख्नुहुन्छ । व्यापारिक भवन अन्य स्थानमा पनि बनाउन सकिने उहाँको भनाइ छ । यहाँ रहेको सत्तलको भग्नावशेष र प्रमाणको पुरातात्विक उत्खनन् अध्ययन अनुसन्धान गर्नु पर्ने स्थानीयको माग छ । सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर सबै प्रमाण सुरक्षित रहेको अवस्थामा सत्तललाई पुरानै अवस्थामा फर्काउन स्थानीय तहलाई आग्रह गर्नुहुन्छ । सांस्कृतिक सम्पदा मासिए काठमाडौंको अस्तित्व नरहने उहाँको तर्क छ ।
उपत्यकामा खुल्ला ठाउँको अभाव छ । रहेको खुल्ला सार्वजनिक स्थान महानगरकै नेतृत्वमा मास्ने कामलाई कुनै अर्थमा पनि औचित्यपूर्ण मान्न सकिदैन । कार्यकाल सम्पन्न हुन लागेको अवस्थामा विभिन्न बाहनामा जनप्रतिनिधिका यस्ता निर्णयले काठमाडौंको सांस्कृतिक मर्यादामा धक्का लाग्ने निश्चित छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar