म्याग्दी – बेनी नगरपालिका – ४ र मंगला गाउँपालिका – ३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल भासिन थालेको छ ।
११७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही १८ माघ मंगलबार ढलान भएको थियो । अन्य दुई वटा स्पामको ढलान ठीक भए पनि पछिल्लोपटक ढलान भएको स्पामको मध्यभागको दायाँ र बायाँतर्फ सतहभन्दा दुई इञ्चभन्दा बढी भासिएको पखेरका बासिन्दा धनबहादुर थापाले बताए । ‘ढलानको भार थाम्न नसकेर टेको लगाइएका फार्मा जमिनमा गाडिएपछि पुल भासिन थालेको हो’, उनले भने, ‘सटिङ गर्दा टेका राख्ने क्रममा भएको लापरबाहीले ढलान दबेर भासिन थालेको छ ।’
बालुवा र सिमेन्ट घोलेर गहिरो देखिएको ठाउँमा हाल्ने क्रममा बुधबार स्थानीयवासीले रोकेका थिए । पुलको बीच भाग उठेको र छेउतर्फ गहिरो, खाडल परेको र भासिएर बांगो देखिन थालेपछि गुणस्तर र दिगोपनामा शंका र प्रश्न उठेको बेनी नगरपालिका–४ तातोपानीका वीरेन्द्रमान शाक्यले बताए । ‘भविष्यमा पुलको उपभोगका क्रममा जोखिम, गुणस्तर र दिगोपनामा असर पर्ने नपर्ने विषयमा प्राविधिक अनुसन्धानका लागि सडक डिभिजन, जिल्ला प्रशासन र नगरपालिकामा अनुरोध गरेका छौँ’, उनले भने, ‘पुल बनेर मात्र भएन, सुरक्षित रूपमा उपयोगयोग्य र गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
निर्माण कम्पनीका इञ्जिनियर गोपालकुमार शाहले फुटपाथको भाग दबेर कुनै असर नपर्ने दाबी गर्दै अर्को ढलान गर्दा सतह मिलाउने बताए । ‘ढलान गर्दागर्दै दबेको हुनाले त्यही अनुसार सेट हुन्छ’, उनले भने, ‘फुटपाथ बनाउने क्रममा सतह मिलाउन सकिन्छ । गाडी गुड्ने भाग केही भएको छैन ।’ ढलानका क्रममा उपस्थित भएका सडक डिभिजन कार्यालय बागलुङका प्राविधिक तोपबहादुर थापाले पनि यो सामान्य विषय भएको प्रतिक्रिया दिए । फुटपाथमा थप सात सेन्टिमिटर बाक्लो ढलान गर्ने क्रममा सतह मिलाउन सकिने उनको भनाइ छ । सडक डिभिजनका इञ्जिनियरसहितको टोली बिहीबार पुलको निरीक्षणमा आएका थिए ।
मंगला गाउँपालिकाको ३, ४ र ५ वडालाई सडक सञ्जालसँग जोड्न सडक डिभिजन कार्यालय बागलुङले पखेरका साथै बाबियाचौरको माटेबगर र पोक जोड्ने म्याग्दी नदीमाथि ८० मिटर लामो पुल बनाउन ०७५ पुसमा लुम्बिनी – प्राकृतिक जेभीसँग २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदारले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण ढिलाइ भएको छ ।
११ मिटर चौडाइ भएको माटेबगर – अर्मन जोड्ने अर्को पुलको ४० मिटरको एउटा स्पाममा ढलान सकेको ठेकेदारले अर्मनतर्फको फिल्लर ठडाएर ढलानको तयारी गरेको छ । फाँपरखेत – पखेर जोड्ने पुलका चार वटै पिलर निर्माण र ढलान सकिए पनि दायाँबायाँ पहँचमार्ग बनाउन बाँकी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar