ललितपुर – केहिदिन अघी ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसल चोरी काण्डमा संलग्न आरोपीलाई पक्रेर घटनालाई झ्यासमिस गराई मिलापत्र गराएका इन्स्पेक्टर सानुकान्छा रम्तेललाई जिम्मेवारीबाट हटाईएको छ ।
चोरीको मुद्दा मिलापत्र गराएको आरोपमा महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेल छानविनमा तानिएका छन् । उनलाई ललितपुर शाखाको जिम्मेवारीबाट हटाएर बानेश्वरस्थित महाशाखामा सरुवा गरेर छानबिन थालिएको महाशाखाका एसएसपी बसन्त कुँवरले बताए ।
ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही दिनअघि चोरी भएको थियो । चोरीमा संलग्न आरोपीलाई पक्रेर रम्तेलले मुद्दा प्रक्रियाअघि बढाएर महानगरीय प्रहरी परिसर ललितपुरलाई जिम्मा लगाउनुको साटो उनले घटना मिलापत्र गराएको खुल्न आएको छ । चोरीमा संलग्न आरोपीलाई सुन बापतको रकम तिराएर उनले मिलापत्र गराएको सुचना पाएपछि महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले छानविन गर्न निर्देशन दिएका थिए ।
महाशाखाका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा समिति बनाएर उनीमाथि छानविन भइरहेको छ । समितिमा इन्स्पेक्टर किरण न्यौपाने सदस्य छन् । ‘सुन चोरी भएपछि कानुनी दायरामा नल्याएर पीडितलाई पैसा दिलाएर मिलापत्र गराएको भन्ने छ,’ एसएसपी कुँवर भन्छन्, ‘छानविन प्रतिवेदनका आधारमा दोषी देखिए कारवाही हुन्छ ।’ ललितपुरमा रम्तेलको ठाउँमा महाशाखामा कार्यरत इन्स्पेक्टर केशव बराकोटीलाई पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar