वि.सं. २०४६ सालको जनआन्दोलनबाट निरंकुश पंचायति व्यवस्थाको अन्त्य भएर नेपालमा बहुदलीय व्यवस्थाको सुरुवात भएको हो । त्यस समयमा राजाको निरंकुश शासन र पंचहरुमा बहुदलबादीहरुले लगाउने आरोप भनेको राज्यको सार्बजनिक सम्पत्ति माथि सत्तासिनहरुको हालिमुहाली र भ्रष्टचारको आरोप नै मुख्य थिए । राजा र राजपरिवारका सदस्यहरु तिनका नातागोता र पंचहरूले राज्यको स्रोत र साधनमाथी कब्जा जमाएकै कारण सर्वसाधारण जनतामा पंचायति व्यवस्था प्रति नकारात्मक भावना बिकास भएको थियो ।
जनतामा पैदा भएको पंचायत बिरोधि भावनाको तत्कालिन समयका प्रतिबन्धित दलहरु बिशेष गरी नेपाली कांग्रेस र कम्युनिष्टहरूले प्रतिनिधित्व गरेर जनतालाई गोलबध्द गर्न सफल भए । फलस्वरुप ३० बर्ष सम्म निर्दलीय पंचायति व्यवस्थाको अन्त्य भयो र बहुदलीय संबैधानिक राजतन्त्र सहितको संसदीय व्यवस्थाको पुनरस्थापना भयो । त्यस पछि भएका चुनावहरुमा राजनैतिक दलका नेताहरुले जुन सिध्दान्त र विचारका आधारमा जनताहरुका विचमा आ आफ्ना दलका मान्यता सहितका घोषणा पत्रहरु सहित निर्वाचनमा गएका थिए सोहि अनुसार जनताले पनि आफ्नो अभिमत जाहेर गरेकै थिए । जनताहरुमा आसा पलाएको थियो कि अब देशमा प्रजातान्त्रिक व्यवस्था सहित बिकासका कामहरु अगाडी बढ्ने छ र देश सम्बृद्ध बन्ने छ अनि जनता शुखि बन्ने छन् ।
तर २०४६ साल पछी मुलुक र जनताको लागि राजनैतिक दलका नेताहरुले जसरी जनताका पक्षमा अनि राष्ट्र र राष्ट्रीयताको पक्षमा आफुलाई उतार्नु पर्ने थियो त्यो हुन सकेन । जसको कारण नेपालले १० बर्षे सशस्त्र युध्द जस्तो अकल्पनीय अबस्था व्यहोर्नु पर्यो । नेपालका राजनैतिक दल र तिनका नेताहरु सामाजिक परिवर्तनको आन्दोलनमा पटक पटक सफल भए । देशमा राजनितिक परिवर्तन पनि गर्न सफल भए तर परिवर्तन पछिको राजनितिक स्थिरता र बिकासका लागि देशलाई सहि दिशा दिन भने अपेक्षाकृत रुपमा सफल हुन सकेनन् । यसको जड कारण भनेको उनिहरुले अबलम्बन गर्दै आएको सिद्धन्त र विचारबाट क्रमशः च्युत हुदै जानु नै हो ।
वि.सं.२०४६/०४७ सालको आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस वि.पि कोईरालाले अबलम्बन गरेको प्रजातान्त्रिक समाजबादको विचारबाट निर्देशित भएको पार्टि हो । कांग्रेसको आर्थिक नीति समाजबादी आर्थिक नीति हो । तर २०४८ साल पछाडि बनेको कांग्रेस नेतृत्वको सरकारले बजेट बनाउदा कहिल्यै पनि बि.पि को समाजबादलाई सम्झिएन । उ मुठ्ठिभरका पुँजिपतिहरुको इसारामा बिस्तारै वि.पि को समाजबादी अर्थ नीतिबाट पलायन हुदै गयो । वि.सं.२०१५ सालमा बि.पि कोरालाको नेतृत्वमा बनेको सरकार र त्यो सरकारले बनाएको अर्थ नीति समाजबादी मोडलको थियो भन्ने सुनिन्छ ।
बिश्वेश्वर प्रसाद कोइरालाले देशको योजना बनाउदा सिहदरबारका भित्ताहरुमा गरिव किसानका फाटेका भोटा र टोपि राखेर योजना बनाउनु भन्ने भनाइबाट पनि बुझ्न सकिन्छ कि उनले कांग्रेसलाई समाजबादी अर्थव्यवस्थाको हिमायति भएको कुरा जनताको बिचमा लान खोजेका थिए । त्यसै भएर कांग्रेसको सरकारलाई पदच्युत गरी राजा महेन्द्रले सत्ता हातमा लिएका हुन सक्छन् ।
बहुदलीय व्यवस्थालाई बद्नाम गराउन तत्कालिन राजदरबार सकृय थियो जसको कारण कांग्रेस पार्टि भित्र भद्रगोल सृजना गरेर वि.पि को सरकारलाई बद्नाम गराइयो र अन्तमा सत्ताच्युत गरियो । अझ वि.पि को अवसान पछी कांग्रेसमा सिध्दान्तको भन्दा व्यक्तिको पूजा गरेर नेतृत्व हत्याउने र पार्टि कब्जा गर्ने नीति नै बन्यो जसले कांग्रेसलाई आजको अबस्थामा आइपुग्न बाध्य बनायो । कांग्रेस पार्टि पनि बिभिन्न फुट र बिभाजनबाट जोगिएन । नेताहरुमा आएको सैध्दान्तिक विचलन र व्यक्तिबादी सोचको कारणबाट पटक पटक जनताबाट अनुमोदित हुँदा र बहुमतको सरकार बनाउदा समेत सरकार टिकाउन सकेन । यसको कारण भनेको कांग्रेस भित्रै मौलाएको शक्ति केन्द्रहरु र गुटउपगुट नै हो ।
सिध्दान्तको भन्दा सत्ता र शक्तिको खेलमा कांग्रेस रूमल्लिदा देशले गंभीर संकट भोग्न पर्यो । देशमा हिंसात्मक आन्दोलन हुन गयो । धेरै धनजनको क्षति भयो । विकास अबरूध्द भयो । विश्वका अन्य मुलुकले आधुनिक बिज्ञान र प्रविधिको बिकास गरेर सम्बृद्ध र सम्पन्न भए । यता हाम्रो देशमा भएका बिकासका संरचना समेत युध्दका बेलामा ध्वस्त भए । यसबाट देश र जनता बिकासबाट पछाडी हटनु पर्यो । यसरी सरकार संचालन गर्ने जिम्मेवारी पाएको दलले सिध्दान्त र व्यवहारमा फरक गर्दा अर्थात सैद्धान्तिक विचारलाई ध्यान नदिँदा कति सम्म देश र जनताले दुःख पाउनु पर्दोरहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
त्यसैगरी सत्तामा पुगिसके पछि पार्टिका उपल्लो तहका नेताहरुबाट चरम भ्रष्टचार भएका थुप्रै घटना भए । आसेपासे र नातागोतालाई पोष्ने काम पनि उत्तिकै भए । भ्रष्टचारले सिमा नाघ्यो । केही उच्चतहका नेताहरु भ्रष्टचारको अभियोगमा जेल जान बाध्य भए । कांग्रेसको सरकारका पालामा निकै नामकमाएका मन्त्रिहरु चिरन्जिवि वाग्ले गोविन्दराज जोशी र जयप्रकाश आनन्द गुप्ता जस्ता माथिल्लो तहका नेताहरु नै जेल जान पर्यो भ्रष्टचार गरेको अभियोगमा । यसबाट पुष्टि हुन्छ कि नेताहरु सिद्धान्तबाट च्युत हुदा देशमा बेथिति बढ्दो रहेछ र समाजमा कति नकारात्मक प्रभाव पर्दो रहेछ ।
त्यस्तै वि.सं.२०४६ साल पछि उदाएको नेकपा एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादलाई आफ्नो मूल नीति मानेर अगाडी बढेको हो । २०५१ सालमा अल््पमतको सरकार बनाउन सफल भएको एमालेले मनमोहन अधिकारीको नेतृत्वमा नौ महिना सरकार चलाउने अवसर पाएको थियो । त्यति बेला विश्वका साम्यबादी मुलुकहरुबाट कम्युनिष्ट सरकार भरखर भरखर ढल्दै थिए जुन बेला नेपालमा नेकपा एमाले उदाउदो सुर्यको रुपमा बिकसित हुदै थियो ।
नौ महिना सरकार संचालन गर्दा एमालेले बनाएको बजेटमा जनताको बहुदलीय जनबादमा उल्लेख भएका आर्थिक नीतिको भल्को दिने गरी सामाजिक सुरक्षा लगायत नौ स का कार्यक्रम लागु गरेको थियो । त्यस बेला सरकारको नेतृत्व एमाले अध्यक्ष मनमोहन अधिकारीले गरे पनि भित्री रुपमा भने महासचिव माधव कुमार नेपालले नेतृत्व गरेका थिए । त्यस बेलामा कम्युनिष्ट सरकारले बनाएको बजेटले जनतामा सकारात्मक प्रभाव पारेकै थियो । त्यो छोटो समयको सरकार संचालनमा बिगतका कांग्रेस सरकारका पालामा भन्दा केहि फरकपन दिन सकेको हुदा मध्यम वर्ग तथा निम्न मध्यम वर्ग र गरिव किसान तथा बृध्द बृध्दाहरुको मन भने नौ महिने कम्युनिष्ट सरकारले जित्न सफल भएको थियो ।
जसको प्रभाव निकै पछि सम्म परी रहन सक्यो र त स्थानीय तह देखि संघीय सरकार सम्मको नेतृत्व एमालेले गर्न पायो । तर बिस्तारै नेकपा एमालेमा पनि देश बाहिर तथा देश भित्रका गैह्र राजनीतिक तत्वहरु बिचौलिया तथा दलाल पुँजिपतिहरुको हालिमुहाली बढ्न थाल्यो । दल भित्र अनाबश्यक खिचातानी र बिवादहरु बढ्न थाले । महाधिबेशनहरुमा अस्वभाविक प्रतिष्पर्धा र गुटगत समुह निर्माण जस्ता गतिविधिहरुले गर्दा दक्षिण एसियामा नै सुसंगठित , बलियो र व्यवस्थित संगठन भएको एमाले क्रमशः कम्जोर हुदै गयो । यसको असर एमालेको नवौं महाधिबेशन पछी झन झन बढ्दै गयो । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा गुट चल्न थाले । पार्टिको भेला बैठक बस्न छाडे । केन्द्र देखि स्थानीय तहसम्म गुटगत संरचना बनाइए । यसले गर्दा संगठन कम्जोर बन्यो । सरकार बनाउने र ढलाउने खेलमा एमालेका नेताहरु न्ै लाग्न थाले । जनताका आवाजहरुको कुनै सुनुवाई गरिएन ।
सत्ता र शक्तिमा बिराजमान हुन अदृश्य शक्ति केन्द्रहरुमा धाउने र अस्वभाविक आर्थिक चलखेल र भ्रष्टचारमा लिप्त हुन थाले । नेताहरुले जननेता मदन भण्डारीको बहुदलीय जनवादलाई केबल हात्तिको देखाउने दाँतमात्रै बनाए । नीति, सिद्धान्त र विचार त केवल मागी खाने भाँडो जतिको नि भएन । अझ एमालेका नेताहरुले जनताका बिचमा बोल्ने गरेका सुशासन र सदाचारका कुराहरुले पछि आँफैलाई गिज्याउन थाल्यो । पार्टिका माथिल्लो तहका नेताहरुको नाम बिभिन्न बिचौलियाहरुको नाम संग जोडिएर आउन थाल्यो । बिभिन्न भ्रष्टचारका घटनाहरुमा नेताका नामहरु जोडिएर आउनु भनेको जनताको बहुदलीय जनबादको बिपरित हो र कम्युनिष्ट नीति विचार र आचरण बिपरित हो । यो मदन भण्डारिको विचार प्रतिको गद्दारी हो अनि नेपाली जनताहरुको शुखि नेपाली र सम्बृद्ध नेपाल बनाउने सपनामाथिको कुठाराघात हो ।
एमालेमा आएको सैद्धान्तिक विचलनको नकारात्मक प्रभाव २०७४ साल पछी बनेको करिब दुईतिहाई सरकारमा समेत पर्यो । बामपंथिहरुप्रति नेपाली जनताले दिएको जनमतको संरक्षण के.पी ओलिको बामपंथी सरकारले गर्न सकेन । किनभने कम्युनिष्टहरुले विचारको राजनीति गर्ने हो । जनताको पक्षमा काम गर्ने हो । तर त्यसको ठीक बिपरीत जनबिरोधि हर्कत, सर्बसत्ताबादी सोच अनि व्यक्तिलाई देवत्वकरण गरेर विचार र सिद्धान्तहीन भीड जम्मा गरेर एउटा व्यक्तिको पुजा गर्ने जमातमा पार्टिलाई परिणत गर्ने काम भयो ।
नेतृत्वको असक्षमताले गर्दा बिशाल कम्युनिष्ट पार्टि बिभाजन हुन पुग्यो । यो इतिहासकै अनौठो र अकल्पनीय परिघटना हो । यस तर्फ कम्युनिष्ट पार्टिका नेताहरुले समीक्षा गर्न जरुरी छ । त्यसैगरी २०५२ सालबाट नेपालमा जनबादी क्रान्तिको हवला दिदै सशस्त्र युध्दमा होमिएको र पछि २०६२÷०६३ को बृहत जनक्रान्ती पस्चात केन्द्रीय राजनीतिको मूलधारमा आएको नेकपा माओवादी पनि अहिले आफुले अबलम्बन गरेको माओवाद त्यागेर बिचौलियाहरुकै चंगुलमा फसेको अबस्था हो । जसरी नेकपा एमाले आज एउटा सिद्धान्तहीन भीडको रुपमा रुपामन्तरित हँुदैछ त्यसै गरी माओबादी पार्टि पनि क्रमश एमालेपथमा नै अगाडि बढीरहेको छ ।
देशका मूल पार्टिहरुले आफ्नो आदर्श र विचारबाट स्खलीत हुदै जादा मुलुकले अकल्पनीय दुर्घटना व्यहोर्दै आएको छ । पटक पटक आन्दोलन गरेर नयाँ राजनीतिक प्रणालीको स्थापना गर्न दलका नेताहरु सफल भए पनि परिबर्तन पछाडी नेताहरु उसै गरी पटक पटक असफल साबित किन हुदै छन् र जनताहरुका बीचमा गरेका प्रतिबद्धताहरु र घोषणा पत्रहरु आज किन अबिश्वासका कागजी खोष्टा सरह भए? अनि नेताहरु प्रति जनताहरुका यति धेरै गुनासो किन हुन्छन् ? पटक पटक व्यवस्था र राजनीतिक प्रणालीलाई दोष दिएर नेताहरु अब उम्कन सक्छन् होला ? तर पनि हाम्रा नेताहरुले आजसम्म गरेका त्याग र संघर्षपूर्ण जिवनको हामीले अबमूल्याङकन गरेका छैनौ र गर्न पनि हुदैन ।
अब दलका नेताहरुले सिद्धान्त र विचारलाई प्राथमिकता दिएर सत्ता स्वार्थमा नलागी आफ्नै दलभित्र शुद्धिकरणको अभियान चलाउन कत्ति पनि ढिला गर्नु हुदैन । राजनीतिलाई फोहरी खेल र अपराधिकरणमा परिणत गर्दाको नकारात्मक प्रभाव आज आम जनसमुदायमा त परेकै छ । समग्र देशको अर्थतन्त्रमा समेत यसको गहीरो असर परेको हुदा सिद्धान्त बिनाको राजनीतिक दल र राजनीतिक दल बिनाको सिद्धान्तको कुनै अर्थ रहदैन । यतातर्फ दलका शीर्ष नेताहरुले ध्यान दिन नसकेमा देश अकल्पनीय रुपमा झन् झन् संकट तर्फ नधकिएला भनेर बिश्वास गर्ने ठाउँ छैन ।
लेखक सिद्धलेक गाँउपालिका धादिङका सामाजिक बिकास शाखाका अधिकृत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar