सल्यान – जनता प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको दुई वर्ष पुगिसक्यो । तर, अझसम्म त्यसको मर्मत गरिएको छैन । प्राथमिक विद्यालयमा ससाना विद्यार्थी पठन/पाठनका लागि आउँछन् । छाना नभएपछि विद्यालयमा अहिलेसम्म खुला आकासमुनि नै पठन/पाठन हुँदै आएको छ ।
शारदा नगरपालिका – १० पैयाखर्कमा अवस्थित उक्त विद्यालयको छाना २०७६ साल चैत ११ गते बेलुकी आएको हावाहुरीले उडाएको थियो । विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरु खुला आकासमुनि बसेर पढ्न बाध्य छन् ।
चैत÷वैशाखको टन्टलापुर घाममा होस् वा असार÷साउनको बर्खे झरी । ससाना विद्यार्थीहरु छाना नभएको त्यही कक्षाकोठामा बस्दै आएका छन । यसबाट शिशु कक्षा र कक्षा १ मा अध्ययनरत बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । विद्यालयमा छाना नभएपछि पानी परेको दिन विद्यालय बन्द हुने गरेको विद्यालयका प्रधानाध्यापक डम्बर चलाउनेले बताए । ‘विद्यालयको छाना हावाहुरीले उडाएको झन्डै दुई वर्ष पुग्न थालेको छ । मर्मत गर्ने पैसा विद्यालयसँग छैन । अन्य समयमा जसोतसो पठन÷पाठन भइरहेको भए पनि बर्खामा समस्या हुन्छ । कोरोनाको महामारीका कारण केही समय विद्यालय बन्द भइरह्यो,’ उनी भन्छन्, ‘पानी परेको दिन र आकासमा बादल लागेको दिन बालबालिका पढ्न आउँदैनन् ।’
शिशु कक्षा, कक्षा १ र कक्षा २ का विद्यार्थीलाई सँगै राखेर पढाउने प्रयास गरे पनि प्रभावकारी नभएको उनी बताउँछन् । २०३३ सालमा स्थापना भएको यस विद्यालयमा अहिले ६३ बालबालिका अध्ययनरत छन् । पर्याप्त विद्यालय भवन नभएको यस विद्यालयमा दरबन्दीका तीन, बालविकास शिक्षक एक र कार्यालय सहयोगी एकजना कार्यरत छन् ।
नयाँ छाना राख्नका लागि माग गरे पनि नगरपालिकाले बेवास्ता गरेको विद्यालयका प्रधानाध्यापक चलाउनले बताउँछन् । ‘विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर नै नगरपालिकामा छाना मर्मतका लागि बजेट माग गरेका थियौँ, तर कुनै सुनुवाई हुँदैन । प्रशासनले दुई/चार हजार दिन्छ, उतै जानुहोस् भनेर फर्कउँछन्’, प्रधानाध्यापक भन्छन् ।
यसैबीच, हावाले छाना उडाएको भवनको मर्मतका लागि शारदा नगरपालिका वडा नं १० ले तीन लाख रुपैयाँ विनियोजन गरेको छ । यसै वर्ष पुनर्निर्माण सम्पन्न गर्ने गरी तीन लाख विनियोजन गरेको वडाध्यक्ष रेशमबहादुर बुढाथोकीले जानकारी दिए । भवनको छाना राख्नका लागि नगरपालिकामा धेरै माग गरे पनि बजेट विनियोजन नभएपछि वडामा रहेको बजेट विनियोजन गरेको उनको भनाइ छ ।
यसका लागि सम्झौता भइसकेको तर कामको सुरुआत नभएको विद्यालयले जनाएको छ । जस्तापाता राख्नका लागि नयाँ ट्रस्ट निर्माण, जस्तापाता खरिद, भुइँमा प्लास्टर लगायतका कार्य गर्न बजेट पर्याप्त नभए पनि जस्तापाता राख्न सके पठनपाठनलाई सञ्चालन गर्न सहजता हुने विद्यालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar