काठमाण्डौ – निर्वाचन आयोगले आगामी वैशाख १४ गते एकै पटक स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न प्रस्ताव गरेको हो । खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकैदिन र एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने पनि आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुनेछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएपनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।
साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानूनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ । जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् ।
त्यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ । जवाफमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुको समहति खोज्नुपर्ने र सबै क्षेत्रहरुमा नभएपनि निश्चित क्षेत्रमा भोटिङ मेसिन प्रयोग गर्दै जाने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar