काठमाण्डौ – नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले डिजिटल वालेट ‘खल्ती’को शेयर स्वामित्व किनेको छ ।
वर्ल्डलिंकले खल्तीको ४० प्रतिशत शेयर किनेसंगै अब खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ । नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवामार्फत सुविधा पुर्याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको कम्पनीले जनाएको छ ।
‘खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ । वर्ल्डलिंक र खल्तीको यो साझेदारीले शहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्याउनको लागि सहयोग पुग्ने विश्वास छ,’ वर्ल्डलिंकले भनेको छ । २५ वर्षअघि स्थापना भएको वर्ल्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि ईन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ ।
‘वर्ल्डलिंकले नेपालको शहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा ईन्टरनेटको सेवा विस्तार गरिरहेको छ,’ वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भने, ‘यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोसेढुङ्गा साबित हुनेछ ।’ खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा ईन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पुर्याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पुर्याउने अध्यक्ष अग्रवालको विश्वास छ ।
स्वदेशी लगानीकर्ताले स्वदेशी स्टार्टअपमा लगानी गरेको यो उदाहरण आगामी दिनमा अन्य लगानीकर्ता र उदाउँदा स्टार्टअपको लागि आशाको संकेत भएको अग्रवालको टिप्पणी छ । ‘यसले नवीन सोचसहित नवीन काम गरिरहेका स्टार्टअपहरुको लागि स्वदेशमै लगानी जुटाउन सकिने विश्वास बढाउँनेछ,’ अग्रवालले भने,’डिजिटल नेपालको लक्ष्य साकार पार्न सहयोग पुर्याउने नवीन सोचहरुलाई सघाउन वल्र्डलिंक सधैं तत्पर रहनेछ ।’
५ वर्षअघि स्थापना भएको डिजिटल वालेट खल्तीले प्रयोगकर्तामाझ् छुट्टै पहिचान बनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक र स्वदेशी रेमिटेन्स सेवा संचालनको लागि अनुमति प्राप्त खल्ती डिजिटल वालेट सन् २०१७ देखि सेवा प्रदान गर्दै आईरहेको छ । लाखौं प्रयोगकर्ताले फोन रिचार्ज गर्न, इन्टरनेट, टिभीको बिल तिर्न, ईन्स्योरेन्सको पि्रमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन शपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको लागि खल्तीको उपयोग गरिरहेका छन् ।
वल्र्डलिंकको लगानीले सबैको लागि वित्तीय पहुँच पुर्याउने खल्तीको योजना साकार पार्नको लागि सहयोग पुग्ने खल्तीका सहसंस्थापक अमित अग्रवालले बताए । वर्ल्डलिंकबाट लगानी भित्रिएसँगै वित्तीय पहुँचमा सबैको सुनिश्चितताको लागि खल्तीले काम गर्ने उनले बताए ।
खल्तीमा हाल दुई सय बढी कर्मचारी आवद्ध छन् । देशभर खल्तीका २० लाख बढी नियमित प्रयोगकर्ता छन् । हाल नेपालका ९० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आवद्ध छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar