गोरखा – गोरखा सदरमुकाममा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ ।
गोरखा नगरपालिका – ६ को अर्घलेमा ५० करोड रुपैयाँको लगानीमा गोरखा गार्डेन सञ्चालनमा आएको हो । गोरखा गार्डेन होटल प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको जनाएको छ ।
होटलमा २ स्विट, १० सुपर डिलक्स र ३४ डिलक्स गरी ४६ कोठा रहेको गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलले बताए । “हामीसँग ४६ रुम छ” उनले भने, “१ सय २५ जना एकसाथ राख्नसक्ने क्षमता छ । गोरखा आएका पर्यटक अब रात बिताउनको लागि अन्य जिल्ला पुग्नुपर्दैन भन्ने विश्वास छ । पर्यटकलाई गुणस्तरीय सेवा दिने हाम्रो लक्ष्य हो ।” न्यूनतम ४ हजार ५ सयदेखि अधिकतम ११ हजार रुपैयाँसम्म कोठाको शुल्क निर्धारण गरिएको छ । सेवा सुरु गरेको अबसरमा आउँदो असारसम्म सेवा शुल्कमा २५ प्रतिशत छुट दिइने अध्यक्ष पौडेलले बताए ।
होटलमा ४ वटा सुविधासम्पन्न सभाहल रहेका छन् । ३५ जनादेखि ३ सय जनासम्म अट्ने सभाहल रहेका अध्यक्ष पौडेलले बताए । चारवटै हलमा एकसाथ ६ सय मानिस राखेर कार्यक्रम गर्न सकिने उनले जानकारी दिए । गोरखाको पर्यटकिय गन्तव्यको चिनारी दिने गरी मनकामना, गोरखनाथ, कालिका र लिगलिगकोट हल नामाकरण गरिएको होटलले जनाएको छ ।
१५ रोपनी क्षेत्रफल ओगटेको ६ तले होटलको माथिल्लो तलामा स्विमिङ पुल पनि बनाइएको छ । गोरखामै पहिलोपटक स्वीमिङ पुलसहितको होटल सञ्चालनमा ल्याइएको हो ।
होटलमा आउने पाहुनालाई जिल्लामै उत्पादन भएको अर्गानिक खाना खुवाउने योजना रहेको अध्यक्ष पौडेलले बताए । “हामी आफैं पनि तरकारी खेती गर्छौं” उनले भने, “व्यावसायिक किसानसँग वार्षिक रुपमा सम्झौता नै गरेर अर्गानिक उत्पादन होटलमा भित्र्याउने योजना छ ।” होटलमा १ सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष पौडेलले बताए । भरतपुर गार्डेन रिसोर्टको समेत संलग्नतामा गोरखा र चितवनका ८२ व्यवसायीले होटलमा लगानी गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar