चितवन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनबाट २ जनालाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसंग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले आज मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका – २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।
मालपोत अधिकृत र अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस मागेका थिए । पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले रु १५ लाखको चेक घूस नभइ आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।
त्यस्तै अमिन कठायतका साथबाट पनि रु ३ लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार का सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।
करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए । जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।
दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar