चितवन – सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा एमालेका सचेतक विशाल भट्टराईले, अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्वको नामावली घोषणा गर्ने र प्रतिनिधिले ताली पड्काएर पारित गर्नुपर्ने ह्वीप लगाएका थिए । महाधिवेशनको बन्दसत्र चलिरहँदा नेता भट्टराई राम्रै चर्चामा थिए ।
तर,हिजो मध्यराति अध्यक्ष ओलीले सर्वसम्मतिका लागि भन्दै घोषणा गरेको पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय सदस्यको सूचीमा उनको नामै परेन । सचिवमा आकांक्षा राखेका भट्टराई केन्द्रीय सदस्यमा समेत नपरेपछि ओलीसँग असन्तुष्ट बनेका छन् । संसदमा पार्टी संसदीय दलको प्रमुख सचेतक समेत बनेका ओलीका अती बिश्वासपात्र भट्टराई केन्द्रीय सदस्यमा समेत नपरेपछि धेरैले आश्चर्य मानेका छन् ।
उता पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीमा आफ्नो नाम नपरे पनि त्यसलाई सामान्य रुपमा लिएको भट्टराईले बताएका छन् । उनले पार्टी नेतृत्वले आफूलाई कुनै महत्वपूर्ण जिम्मेवारीका लागि रिजर्भ गरेर राखेको हुन सक्ने अनुमान गरेको बताएका छन् । ‘पाए पदाधिकारी नपाए केन्द्रीय सदस्य दोहोरिन्छु होला भन्ने अनुमान गरिरहेको बेला मेरो नाम नै आएन । यसलाई मैले सामान्य रुपमै लिएको छु,’ उनले भने । यद्धपी घुमाउरो पारामा भने अन्तिम अवस्थासम्म आफुले सचिवमा दावी गरिरहेको बताए ।
निराश मुद्रामा कुरा गर्दै भट्टराईले, पार्टी नेतृत्वले जुन जिम्मेवारी दिए पनि इमान्दारीपूर्वक निर्वाह गर्ने बताएका छन् । आफूले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेको र त्यसको लागि अभियानसमेत चलाएको बताउँदै उनले त्यसैको कारण आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको भन्दै प्रतिक्रिया दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar