चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताएका छन् ।
एमालेको दसौं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।’ सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर बनेको देउवाले स्मरण गराए । संविधान संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको भएको पनि देउवाले बताए । ‘नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।
फरक-फरक विचारका व्यक्तिहरू भएकाले नै विभिन्न राजनीतिक दल भएको तर लोकतान्त्रिक मूल्य र जीवन्ततालाई, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउनका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा बनाएर सहकार्य गर्नुपर्ने आवश्यक छ,’ उनले भने ।
जनताले विगतमा जस्तो दुःख भोग्न नपरोस् भनेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको आह्वान थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar