काठमाण्डौ – सर्वोच्च अदालतका आन्दोलनरत् न्यायाधीश किस्ता किस्तामा बेन्च फर्किन थालेपछि प्रधानन्याधीसविरुद्धको आन्दोलन अन्योलमा परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनले एक महिनादेखि सुरु गरेको आन्दोलन अन्योलमा परेको हो । ‘वार कि पार’ भन्दै बेञ्च बहिष्कार गरेका १९ न्यायाधीशको पदचाप पछ्याउँदै नेपाल बारले जबराविरुद्धको आन्दोलनलाई न्यायाधीशको च्याम्बरबाट सर्वोच्चको आँगनमा ल्याई पु¥याएको थियो । तर, जबराको राजीनामा माग्दै बेञ्च बहिष्कार गरिरहेका न्यायाधीश क्रमशः बेञ्चमा फर्किन थालेपछि बारको आन्दोलन निष्प्रभावी हुने जोखिम बढेको छ ।
जबराको राजीनामा मागिरहेका न्यायाधीश नै किस्ता, किस्तामा विभाजित हुँदै गएपछि सडक आन्दोलनको नेतृत्व गरिरहेको बार विभाजित न्यायाधीशबीच मध्यस्थता गर्ने प्रयासमा लागेको छ । २९ कात्तिकदेखि बार निरन्तर न्यायाधीशसँग छलफलमा छ । २९ कात्तिकमा न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल जबराको राजीनामा माग्दै गरिएको आन्दोलन छाडेर बेञ्चमा फर्किएका थिए । जबरानिकट मानिने पाँच जना न्यायाधीशले आन्दोलनबाट खुट्टा झिकेपछि बाँकी न्यायाधीशले २९ कात्तिकमै आन्दोलनरत बार पदाधिकारीसँग छलफल गरेका थिए । पाँच जना न्यायाधीशले अलग्गिएकै दिन बिहान प्रधानन्यायाधीश जबराले आन्दोलनरत बारलाई संवादमा आउन आह्वान गर्दै विज्ञप्ति निकालेका थिए ।
केही न्यायाधीश बेन्चमा फर्किने सूचना अघिल्लो दिन नै पाएको थियो बारले । न्यायाधीश बेन्चमा फर्किँदा जबरालाई हटाउने आन्दोलन कमजोर हुने ठानेरै बारले २८ कात्तिक साँझ बेन्चमा नफर्किन आग्रह गर्दै सबै न्यायाधीशलाई पत्र समेत पठाएको थियो । तर, बारको आग्रह नकार्दै पाँच न्यायाधीशले आन्दोलनबाट आफूलाई अलग गरेर बेन्चमा फर्किए । न्याय सम्पादन धेरै दिन रोक्न नहुने, पेसी तोक्न गोला प्रणाली लागू गर्ने कुरामा न्यायाधीशहरू अनिच्छुक देखिएको जस्ता कारण देखाउँदै उनीहरू फूल कोर्टको बैठकमा मात्र सामेल हुने निर्णय गरेर आन्दोलनबाट अलग्गिए ।
आन्दोलन छोडेर गएका न्यायाधीश ३० कात्तिकमा बेन्चमा फर्किएपछि बाँकी न्यायाधीशलाई पनि बेन्चमा फर्किनुपर्ने नैतिक दबाब सिर्जना भयो । इजलास अवज्ञा गर्दै आएका न्यायाधीशले एक महिना पुग्दासम्म यो प्रकरणबारे आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । लामो समयदेखि मुद्दा सुनुवाइ ठप्प हुँदा न्यायाधीशको आलोचना समेत हुन थालिसकेको थियो ।
३० कात्तिकमा बार पदाधिकारीसँगको छलफलमा पाँच जनाबाहेकका न्यायाधीशले पनि बेन्चमा फर्किने बताएका छन् । जबराको राजीनामाको माग यथावत राख्दै आफूहरू बेन्चमा फर्किने टुंगोमा पुगेको न्यायाधीश अनिल सिन्हा बताउँछन् । ‘लामो समय न्याय सम्पादन अवरुद्ध हुँदा समस्या भयो,’ सिन्हाले भने, ‘बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, मेलमिलाप र तामेलीजस्ता मुद्दा हेर्ने मोटामोटी तय भएको छ ।’ गोला प्रथाबाट पेसी तोक्ने प्रक्रिया सुरु हुनुअगाडिसम्म प्रधानन्यायाधीशसँग ‘बेन्च शेयर’ नगर्ने र जबराको राजीनामाको माग यथावत राख्दै न्यायाधीशहरू बेन्चमा फर्किने भएपछि बार पनि अन्योलमा छ । गोलाप्रथा सुरु भइसकेपछि पनि जबरासँग ‘बेन्च शेयर’ नगर्ने मनसायमा आफूहरू रहेको न्यायाधीश सिन्हा बताउँछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar