विराटनगर – मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट गलहत्याईएका छन् ।
सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे – ४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् । समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरेका थिए ।
बैठकअघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो । ‘पालिका भित्र अनियमितता भयो, हिसाब देखाउल भन्दा नगरप्रहरी लगाएर मलाई निकाले,’ भण्डारीले भने, ‘नगरप्रहरीले पनि हातपात गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय पथरीमा पनि उजुरी दिएका छन् ।
वडा अध्यक्ष भण्डारीका अनुसार अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन् । पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ । सोमबारको समीक्षा गोष्ठीमा वडा अध्यक्षलाई निकालेपछि नगर प्रमुख राईले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बैठक चल्न नदिएपछि मेयरले वडा अध्यक्षलाई बाहिर पठाएको बताए । उनका अनुसार वडा अध्यक्षको मोटरसाइकल मर्मतको बिल पास नभएका कारण विवाद निस्किएको थियो ।
उता मेयर राईले भने बैठक चल्न नदिएपछि वडा अध्यक्षलाई बाहिर बसेर सहयोग गर्न आग्रह गरिएको बताउँछन् । आफ्ना कुरा राखिसकेपछि अरुलाई कुरा राख्न नदिएपछि बाहिर पठाइएको उनले बताए । ‘बैठकबाट निकालेको होइन, बाहिर बसेर सहयोग गरिदिनुहोस् भनेको हो,’ उनले भने, ‘बहिर पनि कराउनु भएछ ।’
मेयर राई नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वडा अध्यक्ष भण्डारी भने माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । बैठक कक्षबाट वडा अध्यक्ष निकालिएपछि माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले आपत्ती जनाएका छन् । उनले वडा अध्यक्षमाथिको दुर्व्यवहारको मूल्य चुकाउने उल्लेख गरेका छन् ।
‘पथरी शनिश्चरे ४ का वडा अध्यक्षले उठाएका भ्रष्टाचारका प्रश्नको जबाफ नदिइ उनीमाथि नगरपालिका प्रमुखलगायतले गरेको दुर्व्यवहार आपत्तिजनक छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यसको घोर भर्त्सना गरिन्छ, यो दुर्व्यवहारको चर्को मूल्य पर्ने छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar