टी – २० विश्वकप : पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया पुग्यो फाइनलमा
एजेन्सीप्रकाशित मिति: २०७८ कार्तिक २६, शुक्रबार (२ साल अघि)
११५१ पाठक संख्या
एजेन्सी – टी – २० विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई रोमाञ्चक खेलमा पाँच विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले अष्ट्रेलियालाई जितका लागि १७७ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले अन्तिम ओभर बाँकी रहँदा लक्ष्य पूरा गर्यो। यो उतारचढावमा अष्ट्रेलियाले अन्ततः जित निकाल्यो । १९ औं ओभरको तेस्रो बलमा म्याथ्यु वेडले लगातार तीन छक्का प्रहार गरे र खेल अस्ट्रेलियाको काखमा आयो ।
अष्ट्रेलियाको सुरुआत निकै खराब रहेको थियो । आरोन फिन्च खाता नखोली नै आउट भए । केही समयपछि अष्ट्रेलियाका ब्याट्सम्यानले विकेट झर्दा पनि रन बनाउने क्रम जारी राखे । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको तेस्रो बलमै ओपनर तथा कप्तान आरोन फिन्चलाई शून्यमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।
कप्तानलाई गोल्डेन डक गुमाएपनि वार्नरले आक्रामक इनिङका साथ अघि बढाएका थिए । शादब खानले सातौं ओभरको दोस्रो बलमा मिचेल मार्शलाई २८ रनमा आसिफ अलीबाट क्याच गराएका थिए । मार्शले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । शादबले स्टिभ स्मिथलाई ५ रनमा क्याच गराएपछि पाकिस्तान खेलमा फर्किए ।
११ औं ओभरको पहिलो बलमा शादबलेनै वार्नरलाई ४९ रनमा मोहम्मद रिजवानबाट क्याच गराएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । आक्रामक इनिङ खेलेका वार्नरले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । शादबलेनै ग्लेन म्याक्सवेललाई ७ रनमा हरिस रौफबाट क्याच गराएपछि अष्ट्रेलिया १२.२ ओभरमा ९६ – ५ को अवस्थामा पुगेको थियो ।
तर छैटौं विकेटका लागि मार्कस स्टोइनिस र म्याथ्यु वेडले ४१ बलमा ८१ रनको अविजित साझेदारी गर्दै खेल जिताए । पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा २६ रन खर्चेर प्रमुख ४ विकेट लिएको थियो । यस अघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।
पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । रिजवानको यो टि२० करिअरको ११ औं अर्धशतक हो । योसँगै रिजवान एकै वर्षमा टि२० आई खेलमा १ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बने ।
पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । स्पिनर एडम जाम्पाको बलमा ठूलो सट खेलेका बाबर लङअनमा डेविड वार्नरबाट ३९ रनमा क्याच आउट भए । बाबरले ३४ बलमा ५ चौका प्रहार गरे ।
आसिफ अलि शून्य र शोएब मलिक १ रनमा आउट भए । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर मिचेल स्टार्कले ४ ओभर ३८ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।