१६ असोज,सोलुखुम्बु – एनएमबी लघुवित्त वित्तीय संस्था सोलुखुम्बु सोताङमा कार्यरत एक युवती एक सातादेखि बेपत्ता बनेकी छन् ।
सोताङ गाउँपालिका – १ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार दिँउसो ४ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार वेपत्ता युवतीले अपराह्न ४ः२२ बजे साथिलाई सन्देश पठाएको र ४ः२५ बजेदेखि मोबाइल अफ भएको छ । उनी मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएकी थिईन् तर सोलाबनबाट हाकुला झर्नेक्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए ।
सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीयवासी, वाकु प्रहरीचौकी र इलाका प्रहरी कार्यालय सोताङकाटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो ।
अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ भने एक हप्तापछि प्रहरी निरीक्षक राईको टोलीसमेत फर्केको छ । अहिले प्रहरीचौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । घटनास्थलबाट फर्केको टोलीले अहिले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar