२७ भदौ,काठमाण्डौ – गत भदौ २५ गते पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती मागेको आरोपमा तीन जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आरोपीहरूलाई सार्वजनिक गरिएको हो। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। परिसरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पा खोलावाङका अम्मर बहादुर रोका मगर छन्।
आपराधिक लाभ लिन खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको एसएसपी सिंहले बताए। प्रहरीले पक्राउ गरेको आशिष र अभिषेक कुँवर सहोदर दाजुभाइ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत २५ भदौमा आँखा अस्पतालको तेस्रो तलाको शौचालयमा उनीहरूले ‘बम’ राखेका थिए। ‘त्यसपछि आरोपीहरूले अस्पताल सञ्चालकसँग ३ करोड फिरौती मागेका थिए,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख समेत रहेका एसएसपी सिंहले भने।
यसरी बन्यो बम राखी ३ करोड फिरौती माग्ने योजना
एक महिनाअघि धादिङ त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा उपचार गराउन गएका थिए। त्यहाँ उनले आँखाको लेन्स फेरे, ८० हजार खर्च गरेर फर्किए। जसकारण उनले अस्पतालका कर्मचारी देखि डाक्टरहरू समेतको सम्पर्क नम्बर लिए । आशिष र अभिषेक दाजुभाइ काठमाडौंको फुटुङमा डेरामा बस्दै आएका थिए। आशिष बेल्जियम पनि जाने योजनामा थिए। उनी बेल्जियमको प्रोसेसमा थिए । त्यसको लागि उनको आवेदनसहित म्यानपावरमा १७ लाख खर्च भैसकेको थियो। तर, ‘भिसा आउँदैछ’ भनेर म्यानपावरले उनलाई अल्झाइरहेको थियो।
‘अस्पतालमा आफूले आँखाको उपचार गरेर फर्किएपछि बम राख्ने योजना बनाएको हुँ,’ पक्राउ परेपछि आशिषले प्रहरी समक्ष बयानमा भनेका छन्, ‘अस्पताल चलेको देखेर पैसा आउँछ भन्ने सोच आयो, अनि बम समेत आफैं बनाएँ।’ विदेश जानको लागि म्यानपावरमा खर्च भएको पैसा उठाउनकै लागि युट्युबमा हेरेर दाजुभाई मिलेर बम बनाएको समेत उनीहरुले बयान दिएका छन्। गत २३ असारमा युट्युब हेरेर बम बनाउन सिकेपछि आशिषले ४ हजार ६ सय पर्ने मोबाइल समेत किनेको बयानमा बताएका छन् ।
बम बनाइसकेपछि उनीहरुले फिरौती माग्नको लागि नयाँबजार खुसीबुँबाट एनसेल र स्मार्टका ३ वटा सिमकार्ड किनेका थिए। त्यसपछि फुटुङबाट ट्याक्सी चढेर साथमा बनाएको नक्कली टाइम बम लिएर अस्पताल गए। ‘अस्पतालको तेस्रो तलमा बम राखेर उनीहरु फर्केको भनी बयानका क्रममा खुलेको छ,’ एसएसपी सिंहले भने। त्यसपछि गत भदौ २५ गते बिहीबार आशिषले अस्पतालका एक डाक्टरलाई बारम्बार फोन गरेर बम राखेको सूचना दिएका थिए। अस्पतालमा बम राखेर पड्काइदिएर ध्वस्त पार्दिन लागेको सूचना थियो। जतिबेला उनीहरुले फोन अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङलाई पनि गरेका थिए।
दोङलाई फोनमा भनिएको थियो – ‘तपाईंहरू दुई मिनेटभित्र सबैजना बाहिर जानुस् हामीले अस्पतालको शैचालयमा बम राखेका छौं।’ दोङले तत्कालै अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र अस्पताल सञ्चालक डा. किशोर प्रधानलाई जानकारी गराए। तत्कालै उनीहरु फोन गर्ने व्यक्तिले भनेको स्थानमा हेर्न जाँदा शौचालयमा रहेको कमोडको पछाडी रातो बत्ती पिलिक – पिलिक बलेको देखिएको थियो। अध्यक्ष श्रेष्ठले तत्काल यसको जानकारी प्रहरीको १०० नम्बरमा फोन गरेर दिएका थिए।
उनीहरूले प्रधानको मोबाइलमा समेत केही मेसेज पनि पठाएका थिए। घर परिवारलाई सुरक्षित राख्न मन भए तीन करोड रुपैयाँ लिएर नागढुंगा आउन भनिएको थियो। म्यासेजमार्फत उनीहरूले डा। प्रधानसँग पैसाको बार्गेनिङ गर्न थाले। प्रहरीलाई खबर गरेमा हाम्रो हातमा रिमोट छ भन्दै चार वटा बम तपाईंको घरमा पनि हुनसक्छ वा अन्यन्त्र पनि। हामीले भनेको नमाने र आलटाल गरे बम पड्काएर ध्वस्त पार्दिन्छौं भन्दै धम्क्याइरहे। पैसा नदिए परिवारलाई नै सिध्याइदिने समेत उनिहरुले धम्की दिए।
यद्धपी बम राखिएको र धम्की आएको कुरा अस्पताल प्रशासनबाट पहिला नै प्रहरीलाई खबर भएको थियो। परिसरबाट प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतको नेतृत्वमा प्रहरीको टोली पनि खटिईसकेको थियो। तत्कालै सेनाको डिस्पोजल टोली पनि घटनास्थल पुगेको थियो। त्यसपछी उक्त बम तर्साउनलाई मात्रै राखेको खुल्यो। त्यसपछि प्रहरी बम राख्ने व्यक्तिहरूको खोजीमा सक्रिय भयो। अस्पतालको सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको थियो। प्रहरीले फुटेज, र मोबाइल ट्याकिङ गरी उनीहरू भएको ठाउँ पत्ता लगाएपनि पक्राउ गर्न भने सकिरहेको थिएन्।
त्यसपछि पनि १ करोड ७५ लाख लेनदेन गर्ने गरी अभियुक्त मध्येका अम्मरबहादुर रोकाले प्रधानसँग बार्गेनिङ गर्न थालेका थिए। फुटुङमा कुँवर दाजुभाइ र अम्बरको डेरा सँगै रहेको बयानका क्रममा खुलेको छ। अम्मरले अस्पतालका प्रतिनिधीलाई फिरौती लिएर ‘नागढुंगा कटेर आउनु’ भनेपछि आशिष र अम्बर फुटुङबाट निस्किएका थिए। सँगै प्रहरी पनि त्यहिअनुसार उक्त क्षेत्रमा परिचालन भैसकेको थियो। अन्ततः प्रहरीले सो क्षेत्रमा खोजेर उनीहरुलाई पक्रन सफल भएको हो। यद्धपी आषिशका भाइ अभिषेकलाई भने धादिङबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।
पक्राउ परेपछि उनीहरूले प्रहरीसँगको बयानमा भनेका छन्, ‘आर्थिक अवस्थाको कारण थर्काएपछि पैसा आउँछ भनेर बम राखेका हौँ।’ प्रहरीले उनीहरूमाथि ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar