२४ भदौ,संखुवासभा – सङ्खुवासभाको मादी नगरपालिका – १ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरण अनुसन्धानका लागि प्रदेश – १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुगेका छन् ।
घटनाको थप अनुसन्धान गर्न बुधबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक बिसी सामूहिक हत्या भएको घटनास्थल मादी – १ खोला गाउँमा आइपुगेका हुन् । विभत्स हत्याको घटना रहस्यमय बन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी आइपुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
प्रहरीका विभिन्न टोलीले घटनाको सम्बन्धमा सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनले बताए । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउन प्रहरी सक्रियरूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनको भनाइ थियो । घटना भएको चार दिन भइसक्दा पनि विभत्स हत्या प्रकरण रहस्यमै छ ।
हत्याकाण्डको अनुसन्धानमा प्रहरी उपरीक्षक दाहाल नेतृत्वको विशेष टोलीसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिगेसन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालन गरिएको उनको भनाइ छ । हत्या अनुसन्धानलाई फराकिलो रूपमा गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रहरीका विभिन्न निकायका टोली बोलाएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
अनुसन्धानका क्रममा मृतकको घरमा घरभित्र खानतलासी गर्दा रु चार लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षितरूपमा फेला परेकाले त्यहाँ कुनै लुटपाट नभएको प्रहरीको दाबी छ । घटनाको अनुसन्धानमा ल्याइएका तालिमप्राप्त कुकुरले केही तथ्य पत्ता लगाउन नसकेपछि मङ्गलबार धरान फर्किएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar