२२ भदौ धादिङ – धादिङमा नेकपा (एमाले)बाट निर्वाचित ८५ जना जनप्रतिनिधिले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
नेकपा (एमाले)बाट निर्वाचित ८५ जना जनप्रतिनिधिहरुले आज जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) रोज्नेहरुमा धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानालगायत रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका ५५ जना वडा अध्यक्ष मध्य १४ जना वडा अध्यक्षले पनि नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । त्यस्तै कार्यपालिका सदस्य र वडा सदस्य गरी ६७ जनाले जिल्ला निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् ।
निर्वाचन आयोगले एमाले र नेकपा (एकिकृत समाजवादी) पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि आज भदौ २२ गतेसम्मको समय दिएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र पुरानो दलबाट नयाँ दलमा प्रवेश गर्नका लागि २१ दिनको समय दिने व्यवस्था गरिएको र सोही बमोजिम आयोगले नयाँ दल रोज्ने समय तोकेको हो ।
गत २०७४ को स्थानीय निर्वाचनमा धादिङमा नेकपा एमालेबाट ३ सय १६ जना विभिन्न पदमा निर्वाचित भएका थिए । धादिङको १३ मध्य ८ स्थानीय तहमा प्रमुख र ७ स्थानीय तहमा उपप्रमुख एमालेले जितेको थियो । त्यस्तै वडा अध्यक्ष ५५ जना, महिला वडा सदस्य ५८ जना, सदस्य दलित महिला ५८ जना, अन्य वडा सदस्य १ सय १५ जना र दलित वा अल्पसंख्यक सदस्य १५ जना निर्वाचित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar