२१ भदौ,काठमाण्डौ – आज दिन भरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
यस्तै भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने जनाइएको छ । काठमाडौंमा यो वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाडौं उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ ।
बाढीका कारण ३८२ घर डुबानमा परेका छन् । १३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
बाढीले शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।
बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवा समेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् । पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताएका छन् । यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताए । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।
मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू – भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।
रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वागमती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।
अहिले त्यहाँ सामान हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौंको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । प्रहरीका अनुुसार डुबानमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । त्यसैगरी, रामकोट, बाफल सीतापाइला, मुलपानी लगायत क्षेत्रमा पनि डुबानले बस्ती जोखिममा परेको छ ।
सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाडौंसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar