१३ भदौ,लमजुङ – हिमाली जिल्ला मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् ।
३१ जेठकाे भीषण बाढीपहिरोले विभिन्न क्षेत्र क्षतविक्षत भएपछि सरकारी कार्यालयका प्रमुखहरु विभिन्न बहाना बनाएर जिल्ला बाहिरै बसेका हुन् । जिल्ला प्रशासन कार्यालयले बोलाएको बैठकमा पनि दोस्रो र तेस्रो तहका कर्मचारी तथा सहयोगी उपस्थित हुने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले विभिन्न मन्त्रालय, घरायसी काम, प्रगति समीक्षा, कार्यालयको काम देखाउँदै कार्यालय प्रमुखहरु जिल्ला बाहिर रहेकाे जानकारी प्राप्त भएकाे बताए । जिल्ला समन्वय अधिकारी, मालपोत, घरेलु तथा साना उद्योग, निर्वाचन, सिँचाइ, पूर्वाधार विकास, कोष तथा लेखा नियन्त्रकको कार्यालय, विद्युत प्राधिकरण, स्वास्थ्य, अस्पताल, आयुर्वेद कार्यालय प्रमुखविहीन छन् । यस्तै, खानेपानी, शिक्षा इकाई, नापी, डिभिजन वन कार्यालयका प्रमुख पनि जिल्लामा छैनन । मनाङमा २८ सरकारी कार्यालय छन् ।
चामे, मनाङ, ङिस्याङ, नार्पाभूमि र नासों गाउँपालिकाका प्रमुख प्रशासकीय समेत छैनन् । नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत रुक्मांगत उपाध्याय कार्यालयमा उपस्थित नभएपछि उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रशासन कार्यालयले जनाएको छ । कारबाहीका लागि उनलाई मन्त्रालय तानिएपछि निमित्तको जिम्मेवारी पाएका दीपेन्द्र पण्डित पनि कार्यालयमा छैनन् ।
मनाङ ङिस्याङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकाल ,चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द पनि कार्यालयमा छैनन् । नासों गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीको सरुवा भइसकेको छ । हुलाक कार्यालय कार्यालय सहयोगीको भरमा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar