४ भदौ,काठमाण्डौ – लेखक रचना मोक्तान तामाङद्वारा तामाङ भाषामा लिखित कविता संग्रह ‘थोर्बा दोखाङ’ बजारमा आएको छ ।
संग्रहको भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चन, तामाङ लोकसम्राट चन्द्रबहादुर मोक्तान, लेखक इन्द्र थिङ तामाङ र डाजाङका अध्यक्ष फूलकुमार बम्जनले संयुक्त रुपमा विमोचन गरे ।
उपसचिव डा. लोप्चनले तामाङ भाषामा लेखिएको संग्रहले तामाङ भाषालाई समृद्ध बनाउन सहयोग पुग्ने आशा व्यक्त गरे । उनले भने, ‘तामाङ विद्यार्थीको बाहुल्यता भएका विद्यालयमा तामाङ मातृभाषामा पठनपाठन गर्न यो कृति सन्दर्भ सामग्री हुने र विश्वविद्यालय तहसम्मै तामाङ भाषा पठनपाठनका लागि आधारशीला हुन सक्छ ।’
कृतिमाथि टिप्पणी गर्दै सञ्चारकर्मी मायालु ङेसुरले कवितामा जीवनसंघर्षका विविध आरोह अवरोहलाई कलात्मक रुपमा उधिनिएको बताइन् । उनले माक्र्सवादी दर्शनसँगै १० वर्षे जनयुद्धपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रपछि योद्धालाई बेवास्ता गरिएको, महिलाका मुद्दा, अन्तरजातीय प्रेमका विषयलाई समेत बडो सटिक रुपमा कवितामार्फत अभिव्यक्त गर्न कवि सफल भएको जिकिर गरिन् । ङेसुरले भनिन्, ‘गरिबीका कारण विदेशिने नेपालीले भोग्नुपरेका भाषिक समस्या र तामाङ संस्कृतिको सजिव चित्रण रहेको संग्रहमा छ ।’
यस्तै, कवि मुक्तान थेबाले कृतिमा समावेश कवितामा तामाङ सौन्दर्यताको विषय कलात्मक रुपमा आएको विचार व्यक्त गरे । उनले सिल्प र कलाको दृष्टिले संग्रहमा रहेका केही कविता निकै शक्तिशाली रहेको जिकिर गरे । यसैगरी इन्द्र थिङले रचनाका कविता विषय र सन्दर्भका दृष्टिले शक्तिशाली रहेको बताए ।
उनले प्रगतिवादप्रति दृढ रहँदै कविले कवितामार्फत समाजको प्रतिछाँया मात्रै नभइ आन्तरिक राष्ट्रियता कमजोर हुँदा भएको विद्रोहको चेतनालाई समेत अभिव्यक्त गर्न सफल भएको धारणा व्यक्त गरे । प्रगतिशील धारमा कविता लेख्दै आएकी कवि रचना यो पहिलो संग्रह हो । संग्रहमा ५१ वटा कविता समावेश छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar