३ भदौ,काठमाण्डौ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल बाँहिरिदैमा एमाले समाप्त नहुने टिप्पणी गरेका छन् ।
बुधबार, एमाले बरिष्ठ नेता माधव नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गरेपस्चात् सामाजिक संजाल मार्फत् महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । पोखरेलले नेता नेपालबाट कम्युनिस्ट आन्दोलनमा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएकोसमेत बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन,- ‘हाम्रो गौरवशाली पार्टी (नेकपा एमाले)को आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ – यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ ।’
पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच भएका अनगिन्ती प्रयासका बाबजुद एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने काम भएको उनको भनाइ छ । ‘यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटक पटक अपिल गरिएको छ । माधव नेपाल लगायत केही साथीहरूसँग यसबीच म आफैले पनि पटक पटक कुराकानी गरेको छु । छलफल गरेको छु । तर ती सबै निरर्थक बने,’ उनी भन्छन् ।
माधव नेपालले अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने पार्टी विभाजन गरेको पोखरेलको गम्भीर आरोप छ । उनले भने, ‘एमालेका नेता , कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको छ ।’ एमाले पार्टीबाट कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने पोखरेलले बताए । ‘फुटको विगत हामी सबैले देखेका – भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा एमालेका सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,’ उनको आग्रह छ ।
एमाले पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध रहेको भन्दै दृढताका साथ अघि बढिरहने पोखरेलले बताए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar