३२ साउन,काठमाण्डौ – कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ ।
स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनओटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेको र संक्रमितको संख्या बढ्दै जाँदा निषेधाज्ञाको मोडालिटीमासमेत थप कडाइ गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताए । उनले आमसर्वसाधारणले महामारीप्रति सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दा संक्रमणको गति उकालो लाग्दै गएकाले अवस्थाको विश्लेषण गर्ने काम भइरहेको जानकारी दिए ।
‘काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढ्दो छ, हामीले अनुगमन टोली नै गठन गरेर स्वास्थ्य मापडण्ड पालना भए नभएकोबारे अनुगमन गर्दै आइरहेका छौं, पछिल्लो अवस्थाकोसमेत विश्लेषण गर्ने काम हुँदै छ, आमसर्वसाधारणलाई जथाभावी भीडभाड नगर्न, मास्कको प्रयोग गर्न र बिनाकाम घरबाहिर ननिस्कनसमेत आग्रह गरिरहेका छौं,’ काठमाण्डौका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाण्डौमा ८ हजार ५ सय ७९, ललितपुरमा १ हजार ३ सय १९ र भक्तपुरमा १ हजार ९ सय १८ संक्रिय संक्रमित छन् । काठमाण्डौमा परीक्षण गरिएकामध्ये २५ देखि ३० प्रतिशतलाई संक्रमण पुष्टि हुन थालेको छ । प्रजिअ पराजुलीले संक्रमणको दर कम हुनेभन्दा बढ्दो गतितर्फ रहेकाले प्रसासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी गरिरहेको जानकारी दिए । ‘संक्रमणको आगामी तथ्यांकको विश्लेषण गरेर कस्तो मोडालिटीमा नियोधाज्ञालाई अघि बढाउने भन्ने तय गर्छौं,’ पराजुलीले भने ।
हाल प्रसासनले भने राति ८ बजेबाट सवारी साधन सञ्चालनमा रोक लगाइसकेको छ । रातिको समयमा भेटघाट बढी हुने भएकाले प्रशासनले यस्तो निर्णय गरेको हो । राजधानी दैनिकमा समाचार प्रकाशित् छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar