सर्वप्रथम सन् २०१९ को अन्तिममा चिनको वुहान शहरबाट देखिन थालेको हो कोरोना भाइरस । कोभिड १९ नामाकरण गरिएको यस भाइरसको असर सम्भवत विश्वको सम्पुर्ण देशमा परेको छ। पहिलो चरणको संक्रमणबाट थलिएको बिभिन्न देशहरु यसको दोस्रो तथा तेस्रो चरणबाट समेत प्रत्यक्ष प्रभाव खेपिरहेका छन्। विश्व भरनै संकटको रुपमा देखा परेको यस भाइरसको असर नेपालमा समेत परेको छ । नेपाल हाल कोरोनाको दास्रो चरणको संक्रमणमा रहेको छ । दैनिक रुपमा केही मान्छेको मृत्यु हुने र हजारौं जनामा संक्रमण भेटिनु सामान्य नै बनिसकेको छ।
कोरोना निधानको प्रमुख अस्त्र खोप बन्दै र लगाइदै गरेको हालको अवस्थामा एकअर्कामा सामाजिक दुरी कायम गर्नु र मास्कको समुचित प्रयोग गर्नुलाई यसबाट बच्ने प्रमुख तरिकाको रुपमा लिइएको छ । तर कतिपय अवस्थामा सावधानी अपनाउदा अपनाइदै पनि संक्रमित हुन परेको भेट्न सकिन्छ ।
त्यसै अनुरुप म पनि कोरोनाबाट टाढा रहन सकिन र सावधानीको वावजुत पनि संक्रमित हुन पर्यो। जब नेपालमा कोरोनाबाट संक्रमित व्यक्ति भेटिन थाले त्यति बेलादेखिनै आफुले सावधानी अपनाउदै आएको म पहिलो चरणबाट सुरक्षित भएको थिएँ। अत्यावश्यक काम नपरेको बेला घरबाट ननिस्कने, निस्कनै परेको बखतमा साबधानीको उपाय अपनाएको थिएँ। सामान्य रुपमा यताउता घुमफिर र हिडडुलको क्रम भने निरन्तर चलेको थियो।
तर जब देशमा दोर्सो चरणको लहर सुरु भयो तब तिव्र रुपमा बिरामी भेटिन थाल्यो र मृत्युको दर समेत बढ्न थाल्यो । त्यसै क्रममा म पनि हजारौं संक्रमित को सुचिमा पर्न पुगें । मिति २०७८ असार ३ गते दिनभर एकजना दाजुको अन्त्योष्ठिमा सहभागी भई बेलुका घर फर्केको थिएँ। बेलुका घरमा आएर नुहाएर खाना खाइ सुत्ने तर्खरमा थिएँ। दिनभरको थकाइ, अघिल्लो रातको निन्द्रा र दाजुको अकल्पनीय निधनले मनमा अनेकौं तर्कना खेलिरहेको थियो । बेलुका सुत्ने बेलासम्म आफू स्वस्थनै रहेको थिएँ। जब म रातको ठिक १२ बजे एक्कासि निन्द्राबाट बिउँझिए तब मेरो शरीर म आफैले सम्हाल्न नसक्ने अवस्थामा पाएको थिएँ। शरीर ज्वरोले पुर्णरुपमा थलिएको थियो।
मध्यरातको समय, कोठामा एक्लै रहेको अवस्थामा आफूमाथि परेको संकटको सामना गर्न भरपुर प्रयास गरेँ। तत्काल उठ्न खोज्दा जिउ दुखेकोले उठ्न सकिएन्। केही समयको आराम पछि उठेर ज्वरो नाप्ने कोशिस गरेँ । त्यति बेला ज्वरो लगभग १०१ डिग्री भन्दा बढि थियो। आवश्यक परे काम लाग्छ भनेर पहिलेनै सिटामोल राखेको थिएँ। तत्कालै एक ट्याबलेट खाएँ र आराम गरेँ । त्यसको करिब दुई घण्टा पछि फेरि पनि आफूलाई पहिलेकै अवस्थामा पाएँ र पुनः सिटामोल खाएँ ।
अघिल्ला दिनको थकाइका कारणले ज्वरो आएको भन्ने मान्यताका साथ म त्यसको पछिल्ला दिनहरूमा समेत सिटामोल खाँदै ज्वरो हटाउन लागिपरेको थिएँ। यो क्रम करिब पाँच दिनसम्म चलेको थियो। पाँच दिनसम्म एउटै कोठामा रहि सामान्य खाना र ओखती खाँदै गरेको थिएँ । जब दिनहरु बित्दै थिए म मा अरु पनि लक्षणहरु जस्तै दिऊ दुख्ने, घाँटी दुख्ने, खानेकुराको स्वाद नपाउने हुन थालेको थियो भने ज्वरो र टाउको दुख्ने क्रम समेत रोकिएको थिएन्।
करिब एक हप्तासम्म पनि आफू ठिक हुन नसक्दा भने कतै कोरोनाको संक्रमित त भयो कि भन्ने शंका उब्जिन थालेको थियो। सोहि क्रममा मिति असार १८ गते जब बिहान बिउँझिए शरीर एकदम गरुँगो भएको पाएँ। पुर्ववत सम्पूर्ण लक्षण कायम रहि थप लक्षणहरु पनि देखिन थाल्यो । त्यसबखत छाति दुखेर सास फेर्न एकदम गार्हो भएको थियो। ओछ्यानमा सुतेको बेला पनि कतै गरुँगो भारी बोकेर उकालो बाटो हिडेझै सास रोकिरहेको थियो। उक्त कुराको घरमा जानकारी गराएँ र तत्कालै अस्पताल जानुपर्ने अन्यथा नतिजा नराम्रो हुनसक्ने भन्दै सावधान गराएँ। बिहानको समयमा ओछ्यानबाट उठेर यताउता हिड्छु भन्दा केहीबेर पनि सिधा रहन सकिएन्।
खाना खान मन थिएन, टाउको देख्ने क्रम रोकिएको थिएन्। ज्वरो भने केही कम भएको महशुस गरेको थिएँ। सास फेर्नमा देखिएको समस्याले म एकदमै चिन्तित थिएँ साथै घरका सबैजना पनि दुखित थिए। दिनको समयसम्म पनि सास फेर्न सहज नभए पछि उपचारको लागि दाजुले घर नजिकै मलेखुमा रहेको मलेखु टिचिङ अस्पताल मा लिएर जानुभयो ।
अस्पतालको ईमर्जेन्सी कक्षमा पुगेपछि अस्पतालका कर्मचारीले सामान्य रुपमा सम्पूर्ण जाँच गरेका थिए। लक्षण र मेरो नाजुक शारीरिक अवस्थाको आकलन गर्दा पक्कै पनि कोरोना नै हो भन्ने निष्कर्षमा पुगेका थिए। तर पुष्टिका लागि कोरोनाको जाँच गर्न आवश्यक पिसिआर परिक्षण को लागि नमुना दिइयो । पिसिआरको नतिजा दुई दिनपछि मात्र उपलब्ध हुने भएता पनि कोरोनाको आशंकामा डाक्टरको सल्लाह बमोजिम औषधि लिएर फर्कियौं ।
त्यस पछिका दिनमा अस्पतालबाट ल्याएको औषधि नियमित रुपमा सेवन गरियो। साथै पुर्वानुमान बमोजिमनै कोरोनाको परिक्षणमा म कोरोना संक्रमीत भएको पुष्टि भयो। पहिले देखिनै औषधि सेवन गर्दै आएको र शंका समेत भएकाले पिसिआरको नतिजाले खासै असर भने गरेन। नियमित औषधि सेवनले शारीरिक अवस्थामा सुधार आएता पनि पुर्णरुपमा स्वस्थ हुन लक्षण देखिन सुरु गरेको २५ दिन लागेको थियो। कमजोर शरिर, घट्दो खाना खाने रुचि र कोरोनाले थलित ज्यान लामो समयको आराम पछि मात्र तन्दुरुस्त बनेको थियो । कोरोनाको संक्रमित हुनु रहर नभई बाध्यता हो ।
नचाहेर र रोकथामको उपाय अपनाउदा अपनाउदै पनि कोरोनाको संक्रमित हुनु आफैमा दुखद कुरा हो। सकेसम्म संक्रमितनै नहुनु राम्रो तर भएको अवस्थामा सकारात्मक सोच र दृण आत्मविश्वासले सहजै परास्त गर्न सकिने कुरामा दुई मत छैन । साथसाथै औषधि, शारीरिक व्यायाम र पौष्टिक खानेकुरा ले कोरोनालाई पार लगाउन महत्त्वपूर्ण भुमिका खेल्ने रहेछ।
म कोरोनाबाट संक्रमित भएको अवस्थामा आफू समेत संक्रमित भई मलाई सहयोग गर्नुहुने परिवारको सदस्यहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै देश तथा विदेशमा कोरोनाकै कारणले ज्यान गुमाउने प्रति श्रद्धाञ्जली दिन चाहान्छु र संक्रमित सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar