४ साउन,काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठक कार्यदलमा बनेको १० बुँदे सहमति बमोजिम अघि बढेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलमा भएको सहमति बमोजिम यो बैठकलाई संस्थापन पक्षले १०औँ केन्द्रीय कमिटी बैठक भनेको छ ।
तर बैठकमा पनि नेपाल–खनाल समूह सहभागी छैन । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँगको सहमतिमा एजेण्डा तय गरेर मात्रै बैठक गर्नु पर्ने सो समूहको माग छ । बैठकमा पार्टी विवाद, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल जारी रहेको तामाङले जानकारी दिए । एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेपछि त्यसको तयारीमा आजको बैठक केन्द्रित छ ।
यसअतिरिक्त स्थायी कमिटी बैठकको निर्देशन अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मत नहालेका ३२ सांसदलाई के गर्ने भन्नेबारे पनि आजको बैठकमा छलफल हुने उनले बताए । एमालेका ३२ मध्ये २२ जनाले देउवाको पक्षमा मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए । विश्वासको मत दिने र तटस्थ बसेकाहरुलाई एकैखाले व्यवहार नहुने उनको भनाइ छ ।
सोमबारको स्थायी कमिटी बैठकले देउवाको पक्षमा मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको थियो । तर, संविधानको धारा ७६ (५) को सरकारलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने र त्यसैआधारमा कारबाही गर्न नपाइने सर्वोच्च अदालतले फैसला सुनाएकाले उनीहरुलाई अरु नै कुनै कारण देखाएर कारबाही गर्ने तयारी एमालेको छ ।
०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल(खनाल पक्ष संघर्षरत छ । तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल–खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar