३० असार,महोत्तरी – रहस्यमय तरिकाले हत्या गरिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ ।
मंगलबार महोत्तरी प्रहरीद्धारा आयोजित् पत्रकार सम्मेलनमा चारैजना आरोपितलाई सार्वजनिक गरिएको हो । गत आइतबार शौचालयको सेफ्टी ट्यांकीमुनि गाडिएको अवस्थामा सुजिताको शव फेला परेको थियो ।
उनको हत्यामा संलग्न पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, भ्रमरपुराकै ३७ वर्षीय बण्ठा भनिने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम राइन र ३२ वर्षीय नथुनी मण्डल रहेका छन् । पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मृतकका पति ३१ वर्षीय मुकेश ठाकुरलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्दा उनको संलग्नता नदेखिएकाले थुनामुक्त गरिएको बताए ।
उता सुजिताका पति मुकेशलाई भने मृतक सुजिताका बुबा कामेश्वर पाण्डेको जिम्मा लगाइएको छ । पक्राउ परेका बण्ठा, मुल्ला र नथुनीले मृतकको शव ओसारपसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्न सहयोग गरेकाले पक्राउ गरिएको जानकारी दिए । घटनाको अनुसन्धान अझै बाँकी रहेको उनले बताए ।
प्रहरीले अझै हत्याको कारण लगायतका विषय नखुलाएकाले घटना थप रहस्यमय बनेको छ । जेठ २० देखि हराइरहेकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा फेला परेको थियो भने खोजबिनकै क्रममा असार २७ गते शवको बाँकी भाग सेफ्टी ट्यांकीमा फेला परेको थियो ।
हत्या गरेर यसरी लुकाइएको थियो शव
सुजिताको हत्या २० जेठमा बिहान ८/९ बजेतिर नै देवर रुपेश ठाकुरले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
देवर रुपेशले सुजिताको कोठाभित्र प्रवेश गरी पछाडिबाट मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्काई घाँटीसमेत थिची हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको डीएसपी प्रकाश विष्टले बताए ।
हत्या पश्चात् रुपेशले दिनभरी शवलाई सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेका थिए । राति साढे ८ देखि ९ बजेको बिचमा सुजिताको शवलाई आफ्नै ट्रयाक्टरमा राखेर घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्डो खनी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट सो ठाउँमा पानी हाली धानको बिउ छर्किए ।
त्यहाँ अरुले थाहा पाउने र देख्ने भएपछि २९ जेठमा मध्यराति पुनः शव त्यहाँबाट निकाली घरबाट करिब पाँच सय मिटर पूर्वतर्फ निर्माणाधीन पेट्रोल पम्पसँगै टाँसिएर रहेको आफ्नै चिरान मिल गोदामको जग्गामा उत्तरतर्फ निर्माणाधीन सेफ्टी ट्यांकीमा ४ फिट गहिरो खाल्डो खनी शव पुनः गाडिएको थियो । शव गाडेर माथिबाट ६ ईन्च जति मोटो सिमेन्ट र बालुवाले ढलान गरी माथिल्लो भागमा काठका थुप्राहरू राखिएको थियो । पहिले शव गाडिएको स्थानमा भोलिपल्ट पुनः पानी हाली धानको बिउ छर्किइएको थियो ।
जेठ २० देखि बेपत्ता सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्डो खनेपछि फेला परेको थियो । अनुसन्धानकै क्रममा असार २७ गते घरबाट करिब ५ सय मिटर पर आफ्नै चिरान मिलको नजिक निर्माणाधीन पेट्रोल पम्पको छेउमा शौचालयको सेफ्टी ट्यांकीमा खाल्डो खनी गाडेर माथिबाट प्लास्टर गरेको अवस्थामा फेला परेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar