महामारीमा शिक्षा अधिकृतलाई आपत : भन्छन् अब के गरौँ !
प्रकाशित मिति: २०७८ अषाढ १४, सोमबार (३ साल अघि)
१५१२ पाठक संख्या
महामारीमा शिक्षा अधिकृत- अब के गरौँ ! (पढेर सुझाव पाउँ )
कर्मचारीका हैसियतमा गाउँपालिकाको शिक्षा अधिकृतको रूपमा कार्यरत छु । मुलुक कोभिड-१९ को महामारिको चपेटामा परेको छ । जसको सबैभन्दा बढी असर शिक्षा क्षेत्रमा परेको छ । अब कसरी शिक्षण सिकाइलाई निरन्तरता दिने ?? को को जिम्मेबार हुने ? कसको काम हो ८० लाख बालवालिकाको सिकाइलाई निरन्तरता दिएर भविष्यको लागि नागरिक तयार गर्ने ?
निजी विद्यालयहरूले त अनलाइन क्लास भनेका छन् । निजी विद्यालयमा पठाउने अभिभावकहरू पनि अलि आर्थिक रूपमा सक्रिय छन् । आफै पनि बालवालिकाको पठनपाठनमा ध्यान दिन सक्छन् बच्चाहरूको लागि ल्यापटप, मोबाइल किन्दिन सक्छन्, इन्टरनेटको व्यवस्था गरिदिन सक्छन, सन्दर्भ सामग्री किनेर घरमै पढाउन पनि सक्लान । तर यस अवस्थामा सामुदायिक विद्यालयमा पढ्ने बालवालिकाहरु अब सडकछाप नै बनाउने हो त ! घरमै राखेर उनिहरूले सिक्न पाउने अधिकारलाई हनन गरिरहने हो त !
बालवालिकालाई सिकाइ निरन्तर गराउन मैले देखेका चुनौतीहरू :
शिक्षक:
क. विद्यालयमा शिक्षण सिकाइको सबैभन्दा जिम्मेबार शिक्षक हो । कोभिड महामारीका कारण शिक्षक विद्यालयमा जानु पर्ने अनिवार्यता पनि छुट्यो । यस्तो अवस्थामा शिक्षक आफैले आफ्नो जिम्मेबारीबोध गरेर बैकल्पिक सिकाइका लागि विभिन्न विकल्प निकाल्नु पर्थ्यो ।
कतिपय विद्यालयहरूले बैकल्पिक सिकाइका सामग्री तयार गरी आफ्ना विद्यालयहरूमा लागु गर्नुका साथै विक्रि वितरण गरी विद्यालयको आम्दानीको स्रोत समेत बनाएका छन् । तर, अधिकाँश शिक्षकहरूलाई अहिले विद्यालयमा जानुहोस् । शिक्षक शिक्षक वीचमा छलफल गर्नुहोस् भन्यो भने जवर्जस्ती गरेको ठान्नु भएको छ । शिक्षक पनि स्व-अनुशासनमा बस्नु त पर्ला नि । राज्यले तलब भत्ता त दिइरहेकै छ । त्यसवापत केही काम त गर्नु पर्दैन र !
ख. विद्यालय खोलेर बस्नुहोस भन्यो भने उल्टै आफू दविएको महशुस गर्ने, यसका विरूद्ध विभिन्न हल्ला फिँजाउने कार्य भइरहेको महशुस गरेको छु । बन्दमा अनिवार्य विद्यालय खोल्न दवाव दियो शिक्षा अधिकृतले भन्ने सम्म सुनिन आएको छ । आफ्नो मुख्य TOR नै बालवालिकाहरूलाई पढाउने भएपछि त्यो सम्बन्धमा चिन्तन आवश्यक छैन र !
जनप्रतिनिधि :
क. अहिले विद्यालय सञ्चालनको मुख्य जिम्मेबारी स्थानीय तह (गाउँ/नगरपालिका) हरूलाई छ । विद्यालयमा उहाहरूकै मतदाताका छोराछोरी पढ्छन् । गाउँको कूल जनसंख्याको करिब २५-३० प्रतिशत रहेका बालवालिकाहरू अहिले शिक्षाको अवसरबाट बञ्चित छन् । यस सम्बन्धमा सबैभन्दा बढी चिन्ता उहाँहरूमा हुनुपर्ने हैन र !
ख. अहिले बजेट बनाउने समय छ । कुन शैक्षणिक विधि र सिकाइ प्रक्रिया प्रयोग गर्न सक्यो भने ति जनताका छोराछोरीले पढ्न पाउँछन् भनेर सोच्ने बेला हैन र !
ग. बास्तवमा यहि समय हो शिक्षा र शिक्षण सिकाइ प्रक्रियामा आमूल परिवर्तन ल्याउने । हाल सञ्चालनमा रहेको कक्षाकोठा पठनपाठन विधिको विकल्प सोच्नु पर्ने हैन र ! तर जनप्रतिनिधिहरूको ध्यान भौतिक पूर्वाधार निर्माणमै रहेको देखिन्छ । शैक्षणिक योजना निर्माणमा हैन ।
घ. शिक्षामा यो कार्यक्रम ल्याउनु पर्यो भन्यो वहाँहरूको प्राथिमकतामा त्यो कार्यक्रम परेकै छैन । खाली हामि पछाडी पर्यौँ मात्र भन्नु हुन्छ । अगाडी बढ्ने विकल्प सोच्नु हुन्न । अरूले सल्लाह दिएपनि टेरपुच्छर लाउनु हुन्न ।
अभिभावक :
क. सामुदायिक विद्यालयमा बालवालिका पढाउने अधिकाँस अभिभावकहरू तुलनात्मक हिसाबमा आर्थिक रूपमा कमजोर छन् । बिहान बेलुकी छाक टार्न पनि गाह्रो हुने उनिहरूलाई छोरा छोरीको पढाइ लेखाइ अनि उनिहरूलाई आवश्यक पर्ने उपकरणहरू (मोवाइल, ल्यापटप इन्टरनेट) कसरी व्यवस्थापन होला ?
ख. यि अभिमावकहरूमा शैक्षिक चेतना र ज्ञान पनि कम नै हुन्छ । घरमा आफूले पठाउन पनि सक्दैनन् । यस्तो अवस्थामा घरमै बसेर सिकाइ कसरी गर्ने ? कसरी अभिभावकहरूलाई तिम्रा बच्चाको पठनपाठन तिम्रो मुख्य जिम्मेबारी हो भनेर सम्झाउने !
कर्मचारी :
क. कर्मचारी त के कुरा गर्नु । “राजाको काम कहिले जाला घाम” “आए बाउको गए साहुको” जस्ता व्यवहार प्रदर्शन गरिरहेका छन् । आर्थिक बर्ष समाप्त हुन लागेको हुँदा कसरी सबै कार्यक्रम सक्न पाइएला र आगामी बजेटमा कुन कार्यक्रम पार्न सक्यो भने आफू अनुकूल हुन्छ भन्ने सोचाइमा मग्न छन् ।
ख. स्थानीय तह उनिहरूको के हो र ? ति बालवालिका न आमा पट्टीका न मामा पट्टीका तिनको भविष्यको चिन्ता उहाँहरूमा किन छ र !
ग. यो कार्यक्रम राख्यो भने बच्चाले सिक्ने वातावरण पाउँछन् भन्यो अनि उत्तर आउछ कहाँ सबैले बच्चालाइ मोवाइल दिन सक्छन् । निशुल्क इन्टरनेट दियो भने त बच्चा झन विग्रन्छन् । सबैले पढ्न पाउँदैनन भनेर गैर शिक्षा सेवाका कर्मचारीहरूको उत्तर आउने गर्दछ । अब यो परिस्थितिमा बालवालिकाले कसरी सिकाइलाई निरन्तरता दिन पाउलान !!