५ असार,काठमाण्डौ – मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ ।
पहिरोले मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।” चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।
माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।
प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए ।
सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar