जारी युरोकपमा संयुक्त अधिराज्यका तीनवटा टिमले सहभागिता जनाइरहेका छन् – इङल्यान्ड, स्कटल्यान्ड र वेल्स ।
अर्को टोली, उत्तरी आयरल्यान्डले अघिल्लो संस्करणमा प्रतिस्पर्धा गरेको थियो, यसपटक छनोट हुन असफल रह्यो । यसरी, बेलायतका कुल चारवटा फुटबल टिम छन् । ह्यारी केनको कप्तानीमा रहेका इङल्यान्डले शुक्रबार लण्डनको बेम्बलीमा एन्ड्रियु रोबर्टसनको कप्तानीमा रहेको स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्स पनि प्रतियोगितामा समावेश छ ।
इङल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड संयुक्त अधिराज्यका हिस्सा हुन्, यस देशको राजधानी लण्डन हो । महारानी एलिजावेथ दोस्रो यहाँकी राष्ट्रप्रमुख हुन्, यी सबै भूभागका मानिसहरुले एउटै पासपोर्ट बोक्छन् र यहाँको आधिकारीक राष्ट्रिय गान पनि एउटै छ – गड सेभ द क्विन । यद्यपी, खेलकुदका प्रतियोगितामा उत्तरी आयरल्यान्ड, वेल्स र स्कटल्यान्डले फरक राष्ट्रिय धुन प्रयोग गर्छन् ।
ओलम्पिक खेलकुदमा पनि संयुक्त अधिराज्य बेलायतले एउटै झन्डामुनी प्रतिस्पर्धा गर्छ । तर, फुटबल, क्रिकेटलगायत केही खेलका विश्वस्तरीय प्रतिस्पर्धामा बेलायतका टोलीहरु भिन्दा भिन्दै भिड्छन् । फुटबलमा यस्तो किन भयो ? यसको जवाफ खोज्न अन्तर्राष्ट्रिय फुटबलको इतिहास केलाउनुपर्छ ।
मिचिगन विश्वविद्यालयका बेलायती प्रोफेसर तथा सकरनोमिक्स नामक पुस्तकका लेखकमध्येका एक स्टेफेन सिम्यानेस्की भन्छन् : पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल १८७२ मा इङल्यान्ड र स्कटल्यान्डबीच भएको थियो । खासमा, देशहरुले एकअर्काविरुद्ध खेल्ने सिंगो अवधारणा नै बेलायतबाट विकास भयो । र, अन्तर्राष्ट्रिय खेलको अवधारणा यही हो ।
सन् १८७२ देखि १९०० बेलायतको घरभित्रैका चारवटा टोलीबीच दर्जनौं फुटबल खेल भए । तर, अन्य देशसँग प्रतिस्पर्धा भएनन् । १९ औं शताब्दीको अन्त्यतिर मात्रै अन्य देशहरुले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका हुन् । र, जब १९०४ मा फिफाको गठन भयो । तब, फुटबलमा बेलायतका चारवटा देश रहने अवधारणालाई फिफाले सम्मान ग¥यो । र, सुरुवातदेखि नै चट्टानजसरी यो मान्यता स्थापित भयो ।
१९२१ मा औपचारिक रुपमै आयरल्यान्ड विभाजित भयो । गणतन्त्र आयरल्यान्ड बेलायतबाट टुक्रियो भने उत्तरी आयरल्यान्ड बेलायतकै हिस्सा रह्यो । त्यसयता फुटबलमा आयरल्यान्डका दुई फरक टोली छन् ।
सिम्यानेस्कीका अनुसार व्यवहारिक रुपमा चार टिमलाई एक बनाउन कठिन छ । ‘मलाई लाग्छ यसका लागि फिफा कंग्रेसको दुई–तिहाईको सहमति जुट्नुपर्छ र बेलायतीहरुलाई यसको औचित्य सबैसामु पुष्टि गर्न पनि धेरै कठिन हुन्छ । बरु यसको साटो बेलायतले आफ्नो पक्षमा इतिहास र परम्परा छ, किन सबै मेट्ने ? भन्नसक्छ ।’
सिम्यानेस्कीका अनुसार संयुक्त टोली बनाउने सवालमा इङल्यान्ड धेरै खुसी हुनसक्छ किनकी अहिलेको प्रदर्शनअनुसार इङल्यान्ड यी सबै टोलीमध्ये अब्बल हो । ‘उनीहरुले आफुलाई ठूल्दाजु सोच्नसक्छन् । तर स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका मानिसहरुका लागि अलग राष्ट्रिय टिम हुनु नै ठूलो प्रतिष्ठाको विषय हो ।’
उनी भन्छन्, ‘फिफाले कहिल्यै पनि बेलायतलाई सिंगो टोली बनाउन दबाब दिनेछैन । स्कटल्यान्डले त फरक फुटबल टोलीमात्रै नभएर विभाजन र स्वतन्त्रताकै माग गरिरहेको छ । त्यहाँ विभाजनका लागि केही वर्षअघि जनमतसंग्रह नै भएको थियो र थोरै मतान्तरले एकिकरण पक्षधरहरु विजयी भए । तर, यदी स्कटल्यान्डको राष्ट्रिय टोली पनि खोसियो भने यस टोलीका धेरै पारखीहरु स्वतन्त्रताको पक्षमा लाग्नसक्छन् । किनकी, एकपटक खोसिएपछि फेरि स्कटल्यान्डले राष्ट्रिय टोली फिर्ता पाउन विभाजित नै हुनुपर्छ । त्यहीकारण अहिले जे अवस्था छ, स्कटिसहरु यसैमा खुसी मानौं ।’
२०१२ को लण्डन ओलम्पिकमा बेलायतको फुटबल टोली संयुक्त थियो । टिम जीबी नामक यस टोलीको पूरुषतर्फ इंलिस खेलाडीहरुको वर्चश्व थियो, ५ जना वेल्सका खेलाडी पनि छानिएका थिए । महिला टोलीतर्फ पनि इंलिस खेलाडीकै वर्चश्व थियो र स्कटल्यान्डका दुई खेलाडी छानिएका थिए । सन् २०१६ को रियो ओलम्पिकका लागि पनि यस्तै टोली निर्माणको प्रयास गरिएको थियो । तर, इङल्यान्डको फुटबल एशोसियसनले गरेको प्रस्तावमा वेल्स र स्कटल्यान्डले सहमति जनाएनन् । अन्ततः बेलायतले रियो ओलम्पिकमा फुटबलतर्फ सहभागिता नै जनाएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar