४ जेठ,काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड – १९ संक्रमणको अवस्था अझै केही हप्ता चुनौतीपूर्ण हुने घोषणा गरेको छ ।
सोमबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञाका बाबजुद संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको भन्दै अब केही हप्ता संयमित हुन सबैलाई अनुरोध गरेको हो । विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा संक्रमण नघटेको मन्त्रालयले जनाएको छ । संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु खुलेआम समुदयमा हिँड्डुल नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै, महामारी नियन्त्रण स्वास्थ्य मन्त्रालय एक्लैको युद्ध नभएकाले प्रदेश र स्थानीय सरकार, सरकारी निकायहरु र सर्वसाधारणलाई एकजुट भएर लाग्न मन्त्रालयले आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी निषेधाज्ञालाई उल्लंघन गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तीमा निषेधाज्ञाको समयमा पनि सर्वसाधारणको हिँड्डुलमा ५९ प्रतिशत मात्र कमी आएको जनाएको छ ।
मन्त्रालयले निषेधाज्ञामा आफ्नो भूमिका बढाउन संक्रमण बढी भएका जिल्लाहरुलाई आग्रह गरेको छ । काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लामा संक्रमण बढेपनि निषेधाज्ञाको सहि पालना नभएको जनाइएको छ ।
संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन पनि मन्त्रालयले सबै पक्षलाई आग्रह गरेको छ ।
घरभित्र पनि मास्क लगाऔं
चिकित्सकहरुका अनुसार पछिल्लो समय एउटै परिवारका धेरै सदस्यलाई संक्रमण भएको पाइएको छ । युके र भारतीय भेरियन्ट तीव्र गतिमा फैलिने भएकाले परिवारको एक सदस्यलाई संक्रमण भएपछि अरुलाई पनि सर्ने गरेको पाइएको छ । झन् अहिले लकडाउन भएका कारण अधिकांश मानिस घरमै छन् । परिवारको कुनै एउटा सदस्यलाई संक्रमण भयो भने अरुलाई पनि सर्न सम्भावना हुन्छ । टेकुस्थित शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन घरभित्र बस्दा पनि मास्क लगाउन उपयुक्त हुने बताउँछन् । उनका अनुसार कोठाहरुमा झ्याल/भेन्टिलेटर खुला राख्नुपर्छ । खाना वा खाजा खाँदा अलग अलग बस्ने, परिवारकै सदस्यहरुबीच पनि दुरी कायम गर्ने प्रयास गर्नुपर्छ । एकभन्दा बढी व्यक्ति एउटै कोठामा बस्दा मास्क लगाउनु उपयुक्त हुने डा. पुनको सुझाव छ । ‘झट्ट सुन्दा अनौठो लाग्नसक्छ, तर पछिल्लो समय परिवारमा धेरै सदस्य संक्रमित भइरहेका छन् । त्यसैले घरमा पनि मास्क लगाउनु उपयुक्त हुन्छ’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar