कैलाली गोदावरी नगरपालिकामा रहेको लोटर्सआई माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी मीना पाललाई कोरोना पुष्टि हुनुअघि मीनालाई ज्वरो आउने, टाउको दुख्नेजस्तो समस्या देखिएको थियो। परीक्षणको लागि नजिकैको अस्पतालमा पुगेर स्वाब दिइन्।
त्यसपछि मीना घरमै पनि सामाजिक दूरी कायम गरेर परिवारसँग अलग्गै बस्न थालिन्। घरमै अलग्गै ‘आइशोलेट’ भएकी मीना त्यसपछि सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, टिकटकजस्ता सामाजिक सञ्जालमा रमाउन थालिन्। १८ वैशाख अर्थात मे २ मा उनले टिकटकमा दुईवटा भिडियो बनाएर पोष्ट गरिन्। उनले बनाएको टिकटकमा भनिएको थियो, ‘आमा धेरै थकित छु, जिन्दगीदेखि। सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा। मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन।’
रुँदै भनेको भिडियो देखेपछि धेरैले टिकटकको कमेन्टमा उनको स्वास्थ्यलाभको कामना गरेका छन्। त्यसको भोलिपल्ट १९ वैशाखमा १९ वैशाखमा मीनालाई कोरोना पुष्टि भयो। त्यसपछि झन उनी सजग हुँदै घरको एक कोठामा ‘होम आइशोलेट’ भइन्। कोरोना पुष्टि भएपनि उनले टिकटक बनाउन छाडिनन्। १९ गते नै मीनाले अर्को एउटा भिडियो पोष्ट गरिन्। माक्स लगाएर बिस्तरामा सुत्दै उनले बनाएको भिडियोबाट सहजै अनुमान लगाउन सकिन्छ, कि उनी कोरोना संक्रमित हुन्।
बिस्तरामै सुतिरहेको अवस्थामा उनले भन्दै थिइन, ‘कोरोनाको महामारी दिनप्रतिदिन बढिरहेको छ। बोल्न मन छ भने आजैै दिल खोलेर बोलौं, भोलि के थाहा यो संसार छाडेर म पनि त जान सक्छु। तपाई पनि त जान सक्नुहुन्छ। २ दिन बाँचुन्जेल किन मिठो बोलेर नबाँच्ने, प्लिज मिठो बोल।’ उक्त भिडियोपछि मीनालाई धेरैले उनको स्वास्थ्यलाभको कामना गरे। अर्कोदिन सोमबार उनले लुकेर आफ्नो छोराको भिडियो अपलोड गरेकी छिन्। त्यो भिडियोमा उनले लेखेकी छिन्, ‘मेरो छोराले पिठो मिचेको उसलाई थाहा नदिएर बनाएको भिडियो।’
केहीदिन अत्तरियास्थित आफ्नै घरमा ‘आइशोलेट’ भएर बसेकी ३८ वर्षीया मीनालाई थाइराइडको समेत समस्या थियो। अवस्था जटिल बन्न थालेपछि उनलाई केहीदिन पहिले मालाखेती अस्पतालमा भर्ना गरियो। त्यहाँपनि उपचार सम्भव नभएपछि मीनालाई धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरिएको थियो। उनको स्वास्थ्यमा सुधार आउनुको सट्टा झनै बिग्रिँदै गयो। उनको उपचारमा खटिएका चिकित्सकहरु रातदिन नभनी बचाउन खोजिरहेका थिए। तर, जतिनै कोसिस गरेपनि अस्पतालले उनलाई बचाउन सकेन्।
उपचारकै क्रममा मीनाको बुधबार बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको जेठाजु डम्बरबहादुर पालले बताए। उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि मृत्यु भएको अस्पतालले जनाएको छ। आजै मीनाको शवको गोदावरी आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी भएको छ। मीना विद्यालयको पूर्वप्राथमिक तहमा गत वर्षदेखि अध्यापन गराउँदै आएकी थिइन्। उनका १ छोरा र १ छोरी छन्।
तीनवटै भिडियोमा अहिले पनि कमेन्टहरु आइरहेको छ। तर, कमेन्टमा लेखिएका छन्, ‘हार्दिक श्रद्धाञ्जली।’ मीनाले टिकटक बनाएको भिडियोमा ‘भोली यो संसार छाडेर जानसक्छु’ भनेको १० दिनपछि उनी यो संसारबाटै विदा भएकी छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar